NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

जागिर छाडेपछि तनावमा थिइन् सञ्जु

काठमाडौं । सञ्जु चौधरी नेपालको भारोत्तोलनकी कुशल खेलाडी हुन्। उनले सानै उमेरमा रहरलाग्दो परिचय बनाएकी थिइन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा उनले स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्।

महिलाको ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि हुन्।

सञ्जुले १३औं सागमा स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै तीनै स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। सञ्जु यही बैशाख १७ गते भएको एसियाली खेलकुदको लागि भएको प्रारम्भिक छनोटमा ५५ केजीमा पहिलो भएकी थिइन्।

सानै उमेरमा गौरवमय इतिहास रचेकी सञ्जुले खेलेको अब हेर्न नपाइने भएको छ। मंगलबार बिहान ६ नबज्दै उनले संसार छाडिन्। भारोत्तोलन खेलाडी सञ्जु चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। ललितपुरको लुभूस्थित सञ्जय महर्जनको घरको भुइँतल्लाको कोठामा चौधरी मृत भेटिएकी हुन्। नेपालगन्जमा राम्रो तालिम भएन भन्दै भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजनलाई उनले फोन गरेकी थिइन्। त्यसपछि मर्हजनकै घरमा उनी केही हप्ता अघिदेखि बसेर प्रशिक्षण गर्दै थिइन्।

नेपाल प्रहरीकी भारोत्तोलन खेलाडी टीका गुरुङ आफूसँग सँगै खेल्ने हिम्मतीले सञ्जुको मृत्युको खबरले विक्षिप्त बनेकी छन्। उनी केही दिनअघि सञ्जुसँगको भेटघाट र कुराकानी सम्झँदै भक्कानिइन्। गुरुङका अनुसार नेपाल प्रहरीकी जागिरे सञ्जुले भारोत्तोलनमै केही गर्ने भनेर जागिर छाडेकी थिइन। ‘केही दिन अघि भेट्दा निकै तनावमा देखिन्थिन्। के भएको हो भनेर सोध्दा, व्यक्तिगत कुरा हो भन्दै टारेकी थिइन्। म त के गर्ने होला कसो गर्ने होला भन्दै छटपटिएकी थिइन्’, टीकाले भनिन्। प्रहरीको जागिर छाडेपछि उनी पारिवारिक र आर्थिक तनावमा भएको उनका निकटस्थहरू बताउँछन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।