NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मौन अवधिमा उम्मेदवारका आचारसंहिता विपरीतका काम : पैसादेखि साडी बाँड्ने को–को हुन् ?

काठमाडौं । निर्वाचन आयोगले मंगलबार राती १२ बजेबाट मौन अवधि घोषणा गरेपनि कतिपय उम्मेदवारले भने टेरपुच्छर लगाएनन् । चुनावी प्रचार प्रसारमा बन्देज लागेपनि केही उम्मेदवार तथा कार्यकर्ता भने कतै साडी बाँड्दै त कतै पैसा बाँड्दै गरेको अवस्थामा फेला परेका छन् ।

सरकारलाई विभिन्न सुरक्षा संयन्त्रले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएअनुसार मौन अवधीभर उम्मेदवारहरूले यस्ता आचारसंहिता विपरित काम गरेको पाइएको हो ।

निर्वाचन प्रचार प्रसार गर्न बन्देज रहेको अवस्थामा बुधबार राति नेकपा(एमाले) को तर्फबाट बारा कोल्हवी नगर प्रमुखका उम्मेदवार भरतबहादुर भण्डारीले टोलका मतदातालाई साडी वितरण गरे । उनलाई वडा नं ६ अहदनवार र कुमरगढी टोलका मतदातालाई नगद र साडी बाँड्दै गरेको अवस्थामा भेटिएको हो ।

अर्का गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अजय कुमारले धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं ७ स्थित कुमहडौडा बजार क्षेत्रका दलित घरपरिवारलाई प्रतिपरिवार एक हजार देखि तीन हजार रुपैयाँ वितरण गरेको पाइएको छ । उनी पनि नेकपा(एमाले) को तर्फबाट उम्मेदवार हुन् ।

एमाले बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई पनि सुकुम्बासी बस्तीमा भेटिएकी छिन् । भट्टराई बुधबार दिउँसो मत प्रभावित गर्न सुकुम्बासी बस्तीमा गएको भन्दै आलोचना भएको थियो । कांग्रेसको विरोधपछि भट्टराईले प्रहरीले खोजी गरेको थियो । प्रहरीले खोजी गर्दा उनी केही महिलासहित स्थानीय सिर्जनाको घरमा बसेकी थिइन् । पैसा बाँडेर सुकुम्बासी बस्तीको भोट प्रभावित गर्न खोजेको आरोप उनलाई लागेको थियो । प्रहरीले खानतलासी गर्दा उनको साथबाट पैसा नभेटेको बताएको छ । तर प्रहीले सचेत गराउँदै उनलाई छोडेको थियो ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रामेछापको उमाकुण्ड गाउँपालिका ६ को वडा सदस्य पदका उम्मेदवार मन बहादुर तामाङले मतदातालाई रकम वितरण गरेको भन्दै एमालेका कार्यकर्ताले तामाङलाई ५० हजार रुपैयाँ नगदसहित प्रहरीलाई बुझाए ।

उम्मेदवारले पैसा बाँड्दै हिँडेको भेटिएपछि कतै अर्का पार्टीका कार्यकर्ता त कतै स्नाथीय आफैंले प्रहरीको नियन्त्रणमा बुझाएका छन् ।
मौन अवधिकै अवस्थामा नेकपा माओवादी केन्द्रको तर्फबाट सिराहाको गोलबजार नगर प्रमुखका उम्मेदवार देवनाथ साहलाई पनि स्थानीयले प्रहरीको नियन्त्रणमा बुझाए । आफ्नो पक्षमा मतदान गर्न भन्दै उनले स्थानीयलाई रकम वितरण गर्दै गरेको अवस्थामा १६ हजार रुपयाँ नगदसहित प्रहरीकोमा बुझाइएको छ ।

त्यसअघि पनि पर्वतको पैयुँ गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार याम कुमारी रानालाई वडा नं ४ धारमपानीमा रकम वितरण गरेको भन्दै सत्तारुढ गठबन्धनका कार्यकर्ताहरुले ४३ हजार रुपयाँ सहित प्रहरीलाई बुझाएका थिए ।

बाराको परवानीपुर गाउँपालिका वडा नं १ वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार सुरेन्द्रप्रसाद मण्डलले आफ्नो पक्षमा रहेका मतदातालाई जनता समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्जु साह कानुको पक्षमा मतदान गर्न लगाउने भन्दै सन्जुसँगै चार लाख रुपैयाँ लिए ।

चुनाव आउँन अब एक दिनमात्रै बाँकी भएको अवस्थामा उम्मेदवारहरूको यस्तो हर्कतले आचारसंहिता उल्लंघन गरिरहेको पाइएको हो । आचारसंहिता उल्लंघनसँगै देशभर विभिन्न दलका कार्यकर्ताबीच झडप पनि भइरहेको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जना घाइते भए । त्यस्तै पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा चारजना र सुर्खेतको सिम्ता गाउँपालिकामा दुईजना घाइते भएका छन् । स्याङ्जाको हरिनास गाउँपालिका ४ स्थित ढुगेठाँटीमा नेकपा(एमाले) का कार्यकर्ताहरुले खुकुरी प्रहार गर्दा नेपाल कांग्रेसका अमृत थापा गम्भी घाइते भए ।

दोलाखाको जिरीमा नेकपा(एमाले) ले जिल्ला बाहिरबाट अपरिचित व्यक्तिहरु ल्याएको भन्दै नेकपा(माओवादी केन्द्र) का स्थानीय कार्यकर्ता र नेकपा(एमाले) का कार्यकर्ताबीच झडप भएका थियो । स्थिति प्रतिकूल बन्दै गएपछि प्रहरीले ६÷७ राउण्ड हवाइ फायर गर्न बाध्य भएको थियो भने घटनास्थलबाट नेकपा(एमाले) का जिल्ला सदस्य जे.वी.गुरुङसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।