स्थानीय तह निर्वाचन : ६ महानगरमा कसले कति मत पाए ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । पछिल्लो तथ्याङकअनुसार नेकपा एमाले २५ स्थानमा विजयी भएको छ । दोस्रोमा २२ स्थानमा कांग्रेस विजयी भएको छ । माओवादी केन्द्रले १५ स्थानमा आफ्नो सिट सुनिश्चि गरेको छ । एकीकृत समाजवादीले निर्विरोध बाहेक अहिलेसम्म नयाँ खाता खोल्न सकेको छैन ।
कांग्रेसले देशभर २७३ स्थानमा अग्रता कायम राखेको छ । एमालेले १७९ स्थानसहित दोस्रो स्थानमा अग्रता लिएकाे छ । त्यस्तै माओवादी केन्द्रले ११० स्थानसहित तेस्रो स्थानमा रहेको छ । जसपा ३३ स्थान, एकीकृत समाजवादी १७ स्थान र लोसपाले १४ स्थानमा अग्रता लिइरहेको छ । उनीहरूको स्थान क्रमशः चौंथो, पाँचौं र छैटौं स्थानमा अग्रता कायमै छ ।
त्यस्तै ६ महानगरपालिकामा पनि पछिल्लो मतपरिणाम सार्वजनिक भइरहेको छ । संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिस्पर्धी दल कांग्रेस र एमालेका उम्मेदवारलाई पछि पार्दै फराकिलो मतान्तर बनाउँदै लगेका छन् । बालेनले सुरूदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले ५ हजार १५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले २ हजार ९०० मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २ हजार ५४३ मत ल्याइ तेस्रो स्थानमा रहेकी छिन् ।
ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बर मतले पछाडि पारेका छन् । महर्जनले २ हजार ६०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार १ हजार एक सय ७५ मा सिमित रहेका छन् ।
त्यस्तै विवादका कारण पटक–पटक स्थगित हुँदै आएको चितवनको भरतपुरमा गठबन्धन र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच झिनो मतान्तरले प्रतिस्पर्धा भएको छ । कहिले सुवेदी त कहिले दाहलले झिनो तनान्तरले उछिन्ने क्रम जारी छ । मतपत्र बदरको विषयले एमालेका प्रतिनिधिले विवाद झिकेपछि स्थगित भएपनि अहिले त्यहाँको मतगणना पुनः सुचारू भएको जिल्ला निर्वाचन कार्यलय चितवनले जनाएको छ । पछिल्लो जानकारी अनुसार दाहालले २ हजार ९९५ मतसहित अग्रता कायम राखेकी छिन् । उनलाई एमालेका उम्मेदवार सुवेदीले २ हजार ९९० मतसहित पछ्याइरहेका छन् ।
काठमाडौंपछि ठूलो मतदाता रहेको पोखरामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले आफ्नो अग्रता कायमै राखेका छन् । आचार्यले २ हजार २०० मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापाले २ हजार मत पाएका छन् ।
यसैगरी वीरगञ्ज महानगरमा जसपाका उम्मेदवार राजेशमान सिंहले २ हजार ८३० मतसहित अग्रता कायमै राखेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सरावगीले १ हजार ३०० मत प्राप्त गरेका छन् । सिंह दोब्बर मतले अगाडि रहेका छन् ।
विराटनगर महानगरपालिकामा गठबन्धनका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले ३ हजार ६०० मत प्राप्त गरी पहिलो स्थानमा अग्रता कायमै राखेका छन् । एमालेका उम्मेदवार सागर थापाले २ हजार ६०० मतसहित कोइरालाई पछ्याई राखेका छन् ।
ताजा अपडेट
-
माओवादीप्रति जनताको विश्वास बढ्यो, ०८४ मा ०६४ फर्काउँछौं : प्रचण्ड
-
कुलमानदेखि युवराज अधिकारीसम्मका व्यक्तिविरुद्ध अनुसन्धान गर्दै लेखा समिति
-
विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
-
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
-
सामसङको नयाँ स्मार्टफोनको प्रि-अर्डर गरी पाउनुहाेस् विशेष अफर
प्रतिक्रिया