NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

लुम्बिनी आएका मोदीले नेपाली भाषामा ट्वीट गरे

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार २५६६ औं बुद्ध जयन्तीको अवसरमा नेपाल आएका छन् ।

मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका हुन् । उनले आफू नेपाल आइपुगेको सूचना नेपाली भाषामा ट्वीट गर्दै जानकारी गराएका छन् ।

उनले उक्त ट्वीटमा बुद्ध जयन्तीको विशेष अवसरमा नेपालका जनतासमक्ष हुन पाउँदा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरबाट अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका हुन् ।

उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गरेका छन् ।

लगभग ६ घण्टा लुम्बिनीमा बिताउने मोदीले प्रधानमन्त्री देउवासँगै मायादेवी मन्दिरमा पूजा गर्नेछन् । यसका साथै उनले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेजकाे शिलान्यास गर्ने र उक्त कार्यक्रमलाई सम्बाेधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।