NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

दुईवटा वडाको मतगणना बाँकी हुँदा पनौतीमा कांग्रेस १७५३ मतले अगाडि, गढमा पराजयनजिक एमाले

काठमाडौं । काभ्रेको पनौतीको मतगणना अन्तिमतिर पुग्दै गर्दा मेयरमा कांग्रेसले अग्रतालाई बलियो बनाएको छ । अहिलेसम्म १ देखि ९ वटा वडाको गणना भइसकेको छ ।

१० को केही मत, ११ र १२ वडाको मत गणना हुन बाँकी छ । यस्तोमा मेयरमा कांग्रेसका रामशरण भण्डारीले ११४४६ मत प्राप्त गरेका छन् । एमालेका भीम न्यौपानेले ९६९३ मत प्राप्त गरेका छन् । जुन कांग्रेस उम्मेदवारले पाएको भन्दा १७५३ मतले कम हो ।

भारी अन्तरले पछाडि परेपछि अब १० काे बाँकी मत र दुईवटा वडाबाट एमाले उम्मेदवारलाई कमब्याक गर्न कठिन हुने देखिएको छ ।

किनकी ११ वडा पनि कांग्रेसको प्रभाव रहेको मानिन्छ । १२ मा भने एमालेको अत्याधिक प्रभाव छ । १२ नम्बर वडामा अघिल्लोपटक एमालेले ६ सय अन्तरले वडाध्यक्ष जितेको थियो ।

तर यसपटक वडाध्यक्ष एमालेले जितेका ठाउँमा पनि मेयरमा कांग्रेसलाई बढी मत आइरहेको छ । यसैले पनि पनौती नगरमा एमालेका उम्मेदवार पराजय नजिक पुगेको देखिन्छ ।

गन्न बाँकी वडामा एकलौटी मत ल्याउन सके मात्रै पनौतीमा एमालेले कमब्याक गर्न सक्ने देखिन्छ । तर याे उत्तिकै कठिन छ । मतगणनाको अरु वडाको स्थितिले यस्तो देखाउने सम्भावना निक्कै कम देखाउँछ ।