NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

शिक्षा र स्वास्थ्य क्षेत्रमा सेनाको उच्च प्राथमिकता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिकताका साथ कार्यक्रम गर्दै आएको बताएका छन् ।  नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा र स्वास्थ्यमा सकारात्मक फाइदा लिन सबैमा आग्रह गरेका छन् ।

उनले गुणस्तरीय पठनपाठनलाई निरन्तरता दिँदै विद्यार्थीको नैतिक पक्षलाई सबल बनाउन संस्थानलाई सुझाव पनि दिए । प्रधानसेनापति शर्माले कुनै पनि संस्थाको समयानुकूल विकास, सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य हुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिकित्सा क्षेत्रमा भइरहेको द्रुत विकास, अनुसन्धान तथा प्रयोगलाई आत्मसाथ गरी संस्थानलाई अगाडि बढाउन आग्रह गरेका छन्।

आधुनिक प्रणालीको शिक्षण पद्धति अंगाल्नेतर्फ संस्थान उम्मुख हुनुपर्नेमा उनको जोड थियो । नेपालको समग्र शैक्षिक अवस्थालाई अभिवृद्धि गर्ने पवित्र कार्यमा संस्थानलगायत अन्य शिक्षण संस्थानमार्फत थोरै भए पनि योगदान गर्न पाउनु नेपाली सेनाका लागि गौरवको विषय बनेको उनको भनाइ थियो ।

उनले भविष्यमा यस्ता शिक्षण कार्यको परिधिलाई फराकिलो पार्दै थप कार्यक्रम ल्याउने कुरामा संस्थानले अझै कोशिष गर्ने अ‍ेपक्षा राखेका छन् । संस्थानले हालको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको चिकित्सका शिक्षा दिनेमा विश्वस्त रहेको शर्माले बताए ।

उनले गुणस्तरयुक्त मेडिकल शिक्षा दिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरे। समारोहमा संस्थानका कार्यकारी निर्देशक डा नगेन्द्रबहादुर केसीले सैनिक कल्याणकारी योजनाअन्तर्गत स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले वि.स २०६८ मा संस्थान स्थापना भएको बताए।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा दिव्यसिंह शाहले संस्थानले मुलुकका सैनिक परिवारका विद्यार्थीका साथै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले शिक्षा आर्जनका लागि विद्यार्थीबाट मात्रै वार्षिक ४३ अर्ब बाहिरिरहेको सन्दर्भ जोड्दै त्यसलाई रोक्नतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सरकारले ऐन, नियममा भएका कमिकमजोरी हटाउन सुधारको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । समारोहमा संस्थानको चिकित्साशास्त्र महाविद्यालयका प्राचार्य  डा इभा श्रेष्ठ, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङकी धर्मपत्नी कमला गुरुङ, संस्थानको कलेज अफ मेडिकल पोलिटेक्निकका प्राचार्य डा सुधासेन मल्ललगायतले धारणा राखेका थिए ।

समारोहमा संस्थानको स्थापना कालदेखि नै सहयोग गर्दै आएका प्रा डा हरिगोविन्द श्रेष्ठ, प्रथम कार्यकारी निर्देशक प्रा डा प्रकाशराज पाण्डे र पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई सम्मान गरिएको थियो । सोही क्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष