NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

मोदीको विदेश नीतिमाथि भाजपाकै नेताले उठाए प्रश्न

दिल्ली । पूर्व राज्यसभा सांसद तथा भाजपा नेता सुब्रमण्यम स्वामीले मोदी सरकारको विदेश र आर्थिक नीतिमाथि प्रश्न उठाउँदै आएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र माेदी क्वाड बैठकमा सहभागी हुन जापान पुगेपछि फेरि एकपटक भारतकाे विदेश नीतिबारे बाेलेका हुन् । स्वामीले भारत क्वाड समूह र ब्रिक्स दुवै गुटमा बस्न नमिल्ने तर्क गरेका छन् ।

क्वाडलाई चीनविरोधी गुट मानिन्छ । यसमा भारतसहित जापान, अमेरिका र अष्ट्रेलिया छन् । अर्कोतर्फ चीनको नेतृत्वमा रहेको ब्रिक्स ब्लक छ, जसमा ब्राजिल, भारत, रुस, चीन र दक्षिण अफ्रिका छन् ।

स्वामी भन्छन्, ‘भारतले खुला रूपमा चीन विरोधी गुटमा सामेल हुनुपर्छ किनभने चीनले लद्दाखको वास्तविक नियन्त्रण रेखामा यथास्थिति परिवर्तन गरेको छ ।’ प्रधानमन्त्री मोदी क्वाड बैठकमा सहभागी हुन जापान गएका छन् ।

सुब्रमण्यम स्वामीले मंगलबार ट्विट गर्दै जापानमा क्वाड चीनको विस्तारवादको प्रतिरोध गर्न गठन भएको समूह भन्दै घोषणा गरिएको छ । त्यसोभए भारत किन ब्रिक्समा सहभागी छ ? प्रश्न गरेका छन् ।

क्वाड शिखर सम्मेलनमा टोकियो पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आइपिइएफ) को घोषणा गर्दै इन्डोप्यासिफिकमा अमेरिकी उपस्थिति बढाउने घोषणा गरे ।

आइपिइएफमा भारतसहित १३ देश छन् । अर्कोतर्फ, संलग्न ११ देशहरू रिजनल कम्परहेन्सिभ इकोनोमिक पार्टनरसिप (आरसिएपी) अर्थात क्षेत्रीय व्यापक आर्थिक साझेदारीका सदस्यहरू पनि छन् । चीन पनि आरसिएपीमा समावेश छ ।

एसिया प्यासिफिकमा अमेरिकाले चीनविरुद्ध तयार गरिरहेको रणनीतिमा धेरै विरोधाभास रहेको बताइएको छ । त्यतिबेला भारतमा पनि यस्तै आरोप लागेको छ । एकातिर सीमामा चिनियाँ आक्रामकताको सामना गरिरहेको छ भने अर्कोतर्फ ब्रिक्स र एससिओमा चिनियाँ नेतृत्वको गुटमा पनि संलग्न रहेको भन्दै भारतको विदेश नीतिको आलोचना पनि भइरहेको छ ।

यसबाहेक चीन भारतको प्रमुख द्विपक्षीय व्यापार साझेदार पनि हो । गत आर्थिक वर्षमा चीन र भारतको द्विपक्षीय व्यापार १२१ अर्ब डलर थियो । तर, धेरैले भारतको विदेश नीति बहुसंरचनात्मक रहेको तर्क पनि गर्छन् । अर्थात् भारत कुनै गुट र क्याम्पमा सीमित रहन चाहँदैन र स्वार्थका लागि कि तटस्थ हुन्छ वा सबै समूहमा हुन्छ ।

एकातिर क्वाडको बैठक बसिरहेको छ, अर्कोतिर ब्रिक्सको विस्तार भइरहेको छ । ब्रिक्सलाई अब ब्रिक्स प्लस बनाउँदै गइरहेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले ब्रिक्सलाई विस्तार गरिने र ब्रिक्सका विदेशमन्त्रीहरूको भर्चुअल बैठकमा युएईलाई पनि आमन्त्रण गरिएको बताएका छन् । युएईले बैठकमा सहभागी हुने पुष्टि गरेको छ ।