NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

जब प्रहरीले आँखामा तेजाब हालेर ३३ जनालाई दृष्टिविहिन बनायो

काठमाडौं । सन् १९८० मा, बिहारकाे भागलपुरमा पहिलोपटक दृष्टिविहीनहरूको फोटो प्रकाशित भयो, यसले सम्पूर्ण भारतलाई नराम्रोसँग हल्लायो । तुरुन्त न्याय गर्ने नाममा केही प्रहरीहरुले कानुन आफ्नै हातमा लिएर ३३ जना मुद्दा चलिरहेका व्यक्तिको आँखामा एसिड हालिदिएका थिए । पछि त्यस कथामा ‘गंगाजल’ फिल्म पनि बनेको थियो ।

भारतका प्रख्यात पत्रकार तथा पूर्व केन्द्रीय मन्त्री अरुण शौरीको आत्मकथा हालै प्रकाशित भएको छ ‘द कमिश्नर फर लस्ट काज’ । यसमा उनले यो भयानक घटनाको विस्तृतमा व्याख्या गरेका छन् ।

शौरी सम्झन्छन्, सन् १९८० नोभेम्बरमा पटनाका हाम्रा संवाददाता अरुण सिन्हाले भागलपुरमा जेलमा कैदीहरूलाई प्रहरी र आम जनताले आँखामा एसिड खन्याएर अन्धो बनाउँदैछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूले यसबारे सोधपुछ गर्दा पटनाका आईजीले यसबारे कुनै जानकारी दिन मानेन ।’

भागलपुरका प्रहरी अधिकारीहरूले जिल्लामा कानुनी व्यवस्था कायम गर्न सबैभन्दा प्रभावकारी तरिका नै यही भएको प्रतिक्रिया दिएका थिए । ती प्रहरी अधिकृतहरुले यो काम प्रहरीले नभई त्यहाँका सर्वसाधारणले गरिरहेको र यी तथाकथित हत्यारा, लुटेरा र बलात्कारीका लागि आँसु बगाउनुपर्ने अवस्था नरहेको बताएको अरुण सिन्हा सम्झन्छन् ।

सिन्हाको रिपोर्टकै कारण तत्कालीन सरकारले जेलका सुपरिटेन्डेन्डलाई निलम्बन गरेको थियो । सन् १९८० को जुलाईमा भागलपुर जेलमा रहेका ११ दृष्टिविहीन बन्दीहरूले गृह विभागमा निवेदन दिएर न्यायको माग गरेका थिए । सेप्टेम्बर १९८० मा प्रहरी महानिरीक्षकले भागलपुरको बाँका उप कारागारको निरीक्षण गरी तीन दृष्टिविहिन बन्दीलाई भेटे र त्यसपछि घटनाको छानबिन गर्न गृह विभागलाई अनुरोध गरे तर विभागले कुनै कारबाही गरेन । दृष्टिविहीनहरूलाई भागलपुर मेडिकल कलेजमा लगिएपछि त्यहाँका डाक्टरहरूले उपचार गर्न पनि मानेनन् ।

पछि सर्वोच्च अदालतले मुद्दा आफ्नो हातमा लिएपछि घटनामा संलग्न १५ प्रहरीलाई निलम्बन गर्ने फैसला गर्यो । तर तीन महिनाभित्र प्रत्येक व्यक्तिको निलम्बन आदेश फिर्ता भयो ।