कम्पनीले बीमा शुल्क लिएर बीमालेख बिक्री गरेपछि विनाझन्झट ढिलाइ नगरिकन दाबी भुक्तानी दिनुपर्ने

काठमाडाैं । बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एंव निर्देशक दिनेश कुमार लालले कम्पनीले बीमा शुल्क लिएर बीमालेख बिक्री गरेपछि बिना झन्झट ढिलाई नगरिकन दाबी भुक्तानी दिनै पर्नेमा जोड दिएका छन् । सोमबार समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानीसम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरामा जोड दिँदै बीमाको विश्वसनीयता बढ्न बीमा दाबी भुक्तानी समयमै हुनुपर्ने बताए ।
जीवन बीमा कम्पनीहरुबाट विना झन्झट, छिटोभन्दा छिटो एवं सरल तरिकाले बीमा दाबी भुक्तानी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिले जनाएको छ । कार्यक्रममा बीमा समितिका निर्देशक सुशील देव सुवेदीले बीमा कम्पनीका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटोछरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।
बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एंव निर्देशक दिनेश कुमार लालले समितिले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर बीमा कम्पनीहरूको मूल्यांकन गर्ने उल्लेख गर्दै मूल्यांकनमा न्यून अंक प्राप्त गर्ने कम्पनीहरुले समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने अवगत गराए ।
निर्देशक लालले समितिले बीमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तररूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको बताए ।
कार्यक्रममा बीमा समितिका उपनिर्देशक (कानून) विरोध भट्टले जीवन बीमा कम्पनीहरूको दावीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दैै बीमितले बीमा दावीसम्बन्धी लगायत जुनसुकै किसिमका उजूरीहरू इमेल, फोन वा पत्र मार्फत मौखिक वा लिखितरूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजूरीका रूपमा स्वीकार गर्ने बताए ।
प्रतिक्रिया