NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

सबैभन्दा बढी भोट ल्याएर जितेकी उपमेयर डंगोलले के भनिन् महानगरको पहिलो बैठकमा ?

काठमाडौं । काठमाडौंको मेयरमा अनपेक्षित नतिजा आएपछि सोमबार महानगर कार्यपालिकाको पहिलो बैठक बसेको छ । मेयरमा स्वतन्त्रका बालेन शाह निर्वाचित भएर सपथ लिएपछि सोमबार कार्यपालिकाको पहिलो बैठक बसेको छ ।

सपथ लिएलगत्तै मेयर शाहले कार्यपालिकाको पहिलो बैठक नै लाइभ गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार ३२ वटै वडाध्यक्ष र उपमेयरसहित बालेनले पहिलो बैठक गरेका हुन् ।

पहिलो बैठकबाटै बालेनले फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । वडाध्यक्षलाई वडाको मेयर नै तपाईंहरू हो भन्दै उनले जिम्मेवार भएर काम गरे सबै सफल हुने बताए । साथै तत्कालको खाँचो टार्न रेष्टुरेन्टहरूलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिने र यसको लागि नीति तय गर्ने बताएका थिए ।

पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले पनि आफ्नो धारणा राखिन् ।

डंगोलले फोहोरलाई मोहर बनाउने नारामात्र होइन व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताइन् । त्यस्तै मेयर बालेनले होटल रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक बनाउने घोषणालाई व्यवहारिक बनाउनुपर्ने बताइन् । ‘रेष्टुरेन्ट र होटलले सार्वजनिक शौचालयको रुपमा एक हप्ता प्रयोग गर्न देलान् । एक महिना देलान्’ उनले भनिन्, ‘तर सधैं दिदैनन् । कसरी व्यवस्थित बनाउने भनेर सोच्नुपर्छ ।’ यस विषयमा अघिल्लो कार्यकालमा पनि अध्ययन भएको भन्दै उनले अगाडिका राम्रा काम पल्टाएर हेर्न जरुरी छ ।’

कस सेन्टर राखेर जनताको आवाज र गुनासो सुन्नु निक्कै सान्दर्भिक भए पनि गुनासो सुन्ने विषयलाई कार्यान्वयनमा लानुपर्ने बताइन् ।
सडक बिग्रिएको छ भने ‘क्विक रेस्पोन्स’ टिम बनाएर नतिजा दिनुपर्ने बताइन् ।

पहिलो बैठक परिचयात्मक बैठकमात्रै भएको भन्दै उनले एजेण्डाको तयारी गरेर मात्रै आगामी बैठक राख्नुपर्ने बताए ।
‘व्यक्ति सफल हुन आएका छैनौं । संस्थालाई सफल बनाउन लाग्नुपर्छ । वडा सफल भए सबै सफल हुन्छौं ।’ उनले आफ्नो भाषण टुंग्याउँदै भनिन् ।

डंगोल एमालेबाट उपमेयरमा जितेकी हुन् ।