थप १० जनाको शव कोवाङ ल्याइयो
काठमाडाैं । मुस्ताङकाे थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका थप १० जनाको शव आज बिहान कोवाङ ल्याइएको छ । पाथी हिमालको फेदीमा सङ्कलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टरमार्फत कोवाङमा ल्याइएको हो ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले भिरमा अड्किएको एउटा शव निकाल्ने प्रयास र बेपत्ता एक जनाको खोजी जारी रहेको जानकारी दिए ।
‘सोमबार नेपाली सेनाको हेलिकोप्टरले १० शव काठमाडौं लगिसकेको छ,” उनले भने, “आज घटनास्थलबाट कोवाङ ल्याइएका शवलाई पनि काठमाडौँ पठाउने तयारीमा छौँ ।”
तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।
करिब १०० नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेका थिए । अरु फर्किए पनि सेना र प्रहरीको १४ जनाको उद्धारको तालिमप्राप्त सुरक्षाकर्मी सानोसरेमा पाल टाँगेर बसेका थिए । घटनास्थल पुगेर फर्किएका स्थानीयवासी इन्द्रसिंह शेरचनले विमानको पखेटा पहाडमा ठोक्किएर तल झरेको देखिने बताए । “विमान भिरालो पाखोमा ठोक्किएर तल खोंचमा खसेको देखिन्छ”, उनले भने, “शवहरू धार परेको डाँडामा वल्लोपल्लो पाखामा छरिएका थिए । केही तल्लो डिलमुनि पुगेका थिए ।”
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया