NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

महिनावारीका कारण फ्रेन्च ओपनमा पराजित भएपछि छिन्वेनले भनिन् – ‘म पुरुष भएको भए’

काठमाडौं । पहिलोपटक फ्रेन्च ओपन खेल्दै आएकी चीनका १९ वर्षीय झेङ छिन्वेन चौथो राउण्डमा विश्व नम्बर एक इन्गा स्विटेकसँग पराजित भएकी छन् । विश्व नम्बर एकलाई हराउन नपाएकोमा उनी निकै दुःखी छन् । खेलपछि उनले म केटा भएको भए महिनावारीको सामना गर्नुपर्दैनथ्यो भनिन् ।

वास्तवमा यो खेलको पहिलो सेट झेङले जितेकी थिइन् तर त्यसपछिका दुई सेटमा उनी पराजित भइन् । उनले विश्व नम्बर एक खेलाडीलाई हराउने सपना पूरा गर्न सकिनन् । झेङले पहिलो सेट टाइब्रेकरमा इगा स्विटेकमाथि ७-६ ले जितेकी थिइन् ।

त्यसपछि स्विटेकले लगातार दुई सेटमा ६-०, ६-२ को सेटमा पराजित गर्दै प्रतियोगिताबाट बाहिरिने बाटो देखाइन् । झेङले खेलको क्रममा मेडिकल समय पनि लिनु परेको थियो ।

खेलपछि झेङले आफ्नो हारको कारण बताउँदै भनिन्, ‘चोटले गर्दा मलाई कुनै चिन्ता थिएन । महिनावारीका कारण म धेरै चिन्तित थिएँ । यो समस्या खेलअघि नै सुरु भएको थियो । महिनावारीका कारण खेलको बीचमा सहन गाह्रो हुने गरी पेट दुखेको थियो । महिनावारीको पहिलो दिन थियो, यो अवधिमा मलाई असाध्यै पीडा हुन्छ । मैले गाह्रो हुँदा हुँदै पनि खेल खेलेँ । म प्रकृतिविरुद्ध जान सक्दिन । म पुरुष भएको भए यसको सामना गर्नुपर्दैनथ्यो ।’

झेङ पूर्व विश्व नम्बर एक र २०१८ च्याम्पियन सिमोना हालेपलाई ६-२, ६-२, ६-१ ले हराउँदै दोस्रो राउण्डबाट बाहिरिइन् । स्विटेक फ्रेन्च ओपनको लगातार तेस्रो पटक क्वाटरफाइनलमा पुगेकी छन् । यो उनको लगातार ३२ औं जित पनि हो । २३ अप्रिलपछि उनी पहिलोपटक सेट हारेकी हुन् । उनले स्टटगार्ट ओपनको सेमिफाइनलमा ल्युडमिला सामसोनोभासँगको सेट हारेकी थिइन् भने झेङसँग पहिलो सेट हारिन् ।

लगातार तेस्रोपटक क्वाटरफाइनलमा पुगेकी इन्गा स्विटेकले १९ वर्षीय चिनियाँ खेलाडी झेङको प्रशंसा गरिन् । उनले भनिन्, ‘झेङको प्रहारबाट म छक्क परेँ । उनले साँच्चै राम्रो सट खेलिन्, यसको लागि धेरै बधाई । पहिलो सेटमा पराजयले निराश भएकी थिएँ, त्यसपछि पुनरागमन गरेर अग्रता लिएर खेल जित्न पाउँदा खुसी छु ।’

ताजा अपडेट

नेपालवाच विशेष