अष्ट्रेलिया : पहिलाेपटक मन्त्रिपरिषद्मा सबैभन्दा धेरै महिलाकाे सहभागिता

क्यानबेरा । अष्ट्रेलियामा मंगलबार नयाँ मन्त्रिपरिषद् विस्तार गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले नयाँ मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
लेबर पार्टीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा ३० जना मन्त्री भएका छन् । ती मध्ये १३ जना महिला रहेका छन् ।
आदिवासी समुदायका महिलामध्ये लिन्दा बर्नी पहिलो मन्त्री बनेकी छन् । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका थिएनन् । तर आदिवासी पुरुष भने एक जना मन्त्री यसअघि केन वाईट मन्त्री बनेका थिए ।
त्यसैगरी अष्ट्रेलियाको इतिहासमा अहिलेको मन्त्रिपरिषद्मा पहिलोपटक मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । अहिले एकैपटकमा मुस्लिम समुदायका दुई जना मन्त्री बनेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार एद हसिक र अन्ना अलीले मुस्लीम समुदायको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्मा सहभागी भएका हुन् । त्यसैगरी उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका रिचार्ड मार्लेसले रक्षा मन्त्रालय सम्हाल्नेछन् भने क्लार ओनेइललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनले मन्त्रिपरिषद्को कोषाध्यक्षमा जिम चाल्मर्स, विदेश मन्त्रीमा पेन्नी वाङ र अर्थमन्त्रीमा काती गाल्लाघारलाई पहिलो दिन नै नियुक्त गरेका थिए । उनीहरु सबैले मे २३ मा नै सपथ लिएका थिए । मंगलबार मन्त्रीमा नियुक्त भएकालाई भने बुधबार सपथ खुवाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
लेबर पार्टीले एक्लै बहुमत ल्याएपछि उनले एकल मन्त्रिपरिषद् गठन गरेका हुन् । देशका पाँच प्रदेशमा अझै पनि विदेशबाट आएका मत गणना भइरहेपनि बहुमत पुऱ्याउन आवश्यक पर्ने ७६ सिट जितिसकेकाले उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
लेबर पार्टीका नेता अल्बानी प्रधानमन्त्री भएको १० दिनपछि मात्रै मन्त्रपरिषद् गठन गरिएको हो । लेबर पार्टी यसअघि नौ वर्ष प्रतिपक्षमा रहेको थियो ।
प्रतिक्रिया