सशस्त्रका चार सय घुमुवा तानिए

सशस्त्र प्रहरी बलबाट सूचना संकलनका नाममा सादा पोसाकमा खटिएका करिब चार सय ‘घुमुवा’लाई एकैपटक फिर्ता गरिएको छ । उनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको र सूचना संकलनको प्रणालीलाई फिर्ता गरिएको सशस्त्रले जनाएको छ ।
सादा पोसाकमा कर्मचारी खटाउने प्रणालीलाई व्यवस्थित बनाउन हाल कार्यरत सबैलाई ‘घुमुवा’ फिर्ता गरिएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी विदुर खड्काले बताए । ‘अब इन्टेलिजेन्स तालिम गरेकालाई मात्र सूचना संकलनमा सादा पोसाकमा खटाइन्छ,’ डिआइजी खड्काले भने, ‘सूचना संकलनलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको छ ।’
सादा पोसाकमा खटिने कतिपय कर्मचारी गैरव्यावसायिक गतिविधिमा लागेको पाइएकाले पनि उनीहरूलाई सम्बन्धित कार्यालयमै फिर्ता गरेर नियमित ड्युटीमा खटाइएको हो । भ्रष्टाचारमा शून्य सहनशीलताको प्रहरी महानिरीक्षक राजु अर्यालको नीतिअनुसार सादा पोसाकमा खटिएका प्रहरी फिर्ता गरी व्यवस्थित गर्न लागिएको प्रवक्ता खड्काले बताए । कुनै कार्यालयले सादा पोसाकका कर्मचारी फिर्ता नगरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने चेतावनीसमेत सशस्त्रले मातहतका निकायलाई दिएको छ । सशस्त्रका सबैजसो बाहिनी, गण, गुल्म र बोर्डर आउट पोस्टका प्रमुखले सादा पोसाकमा कर्मचारी खटाउँदै आएका छन् ।
सशस्त्रको योजनाअनुसार सादा पोसाकमा अब इन्टेलिजेन्ससम्बन्धी तालिम गरेका मात्र खटिनेछन् । यसअघि कार्यालय प्रमुखका निकट प्रहरीलाई सादा पोसाकमा खटाउने गरिएको थियो । खासगरी तराईका जिल्लामा खटिने यस्ता कर्मचारी गैरव्यावसायिक गतिविधिमा संलग्नसमेत हुने गरेका थिए । सशस्त्र प्रहरी स्रोतका अनुसार अब सादा पोसाकमा खटिने कर्मचारीको हकमा छुट्टै परिचयपत्रको समेत व्यवस्था गर्न लागिएको छ ।
सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका घुमुवा पटक–पटक विवादमा मुछिँदै आएका छन् । छिन्नमस्ता बाहिनी महोत्तरीबाट खटिएका चार घुमुवाविरुद्ध तीन साताअघि बारामा पक्राउ पुर्जीसमेत जारी भएको छ । सशस्त्रका घुमुवाले हतियार डिल गरेर पक्राउ गर्न खोजेका घुमुवालाई नेपाल प्रहरीले पक्राउ गरेपछि हतियार कारोबारमा सशस्त्रका घुमुवाको समेत मिलेमतोको आशंकामा पक्राउ पुर्जी जारी भएको थियो । अनुसन्धानको क्रममा मिलेमतो नदेखिएपछि उनीहरूलाई मुद्दा नचलाउने सहमति भएको स्रोत बताउँछ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया