NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपाका दुवै पक्ष के–के गर्दैछन् ?

काठमाडौं । पार्टी विभाजन भएपछि नेकपा (विप्लव समूह)का दुवै पक्ष अहिले संगठन विस्तार तथा कार्यकर्ता प्रशिक्षणमा व्यस्त छन् । विप्लव नेतृत्व पक्षले असोजमा नवौं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । जेठ १२ देखि उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सामुदायिक भवनमा शुरू भएको विप्लव समूहको केन्द्रीय कमिटीको तेह्रौं विस्तारित बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।

पार्टी विभाजनपश्चात सांगठनिक अवस्था तथा कार्यनीतिलगायत विषयमा छलफल गरी भावी रणनीति तय गर्ने उद्देश्यले महासचिव विप्लवले बैठक बोलाएका थिए । बैठकमा ५८ जना केन्द्रीय सदस्य र केही सल्लाहकार सदस्य सहभागी रहेको सहभागी एक नेताले बताएका छन् । तीमध्ये अधिकांश सदस्यले महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने विषयमा विरोध जनाएका थिए । यद्यपि सो समूहले जेठ २० गते काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गर्ने भएको बताएको छ ।

‘स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारमार्फत गरिएको सहभागिता समेतका विषयले पार्टी एकीकृत जनक्रान्तिमार्फत साम्यवाद प्राप्त गर्ने राजनीतिक कार्य दिशाबाट विमुख भएको छ’, एक नेताले भने,‘ ‘महासचिवज्यूले पेश गर्नुभएको प्रतिवेदनलाई लिएर धेरै सदस्यले बैठकमा व्यापक विरोध र असन्तुष्टि जनाए । सदस्यहरूको असन्तुष्टिपछि उहाँले उल्लिखित विषय आगामी राष्ट्रिय महाधिवेशनबाट टुङ्गोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएपछि प्रतिवेदन पारित भयो ।’

त्यस्तै धर्मेन्द्र बाँस्तोला (कञ्चन) नेतृत्वको असन्तुष्ट समूहले जेठ १५ गतेदेखि जेठ ३० गतेसम्म सातवटै प्रदेशमा व्युरोस्तरीय कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ । महाधिवेशन आयोजक कमिटीको बनेपामा बसेको केन्द्रीय बैठकले उक्त निर्णय गरेको स्रोतको भनाइ छ ।

गत चैतको पहिलो साता कपिलवस्तुको शिवगढीमा बसेको नेकपाको बैठकमा महासचिव विप्लवले स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गराएपछि बाँस्तोलासहित बहुमत सदस्य पार्टी पुर्नगठन गरी नेकपा (बहुमत) राखेका थिए । महाधिवेशनबाट चुनिएका ६५ जना केन्द्रीय सदस्यमध्ये ३४ जनालाई पार्टीबाट हटाएको असन्तुष्ट समूहको दाबी छ ।

यस्ता छन् असन्तुष्ट पक्षका गतिविधि :

जेठ १७ गते कास्की जिल्लाको पोखरा–१०, बुद्धचोकस्थित गुरुङ समाजको सभाहलमा केन्द्रीय संयोजक बाँस्तोला, प्रवक्ता हेमन्तप्रकाश वली (सुदर्शन), गण्डकी व्युरो इञ्चार्ज कृष्ण वाग्ले (रुपेश)समेत करिब ५० जनाको सहभागितामा गण्डकी व्युरोस्तरीय कार्यकर्ता प्रशिक्षण गरिएको थियो ।

उक्त प्रशिक्षणका क्रममा संयोजक बाँस्तोलाले वर्तमान अवस्थामा सम्पूर्ण नेता–कार्यकर्ताहरू संगठन निर्माणमा केन्द्रित हुनुपर्ने, साविकको संगठनमा आफूहरूको बहुमत रहेकोले संगठन निर्माण र वैचारिक एकीकरणमा पार्टी सफल हुने बताएका थिए ।

पार्टी फुटको सन्दर्भ र औचित्यबारे बाँस्तोलाले धारणा राख्दै तत्काल कुनै हिंसात्मक तथा ध्वंसात्मक गतिविधि नगर्न-नगराउन तथा मंसिरसम्म जिल्ला अधिवेशन सम्पन्न गरी फागुनमा हुने राष्ट्रिय अधिवेशनको तयारीमा जुट्न सहभागीहरूलाई निर्देशन दिएका थिए ।

उक्त समूहले लुम्बिनी प्रदेशतर्फका नेता कार्यकर्ताहरुलाई लक्षित गरी जेठ २० गते लुम्बिनी व्युरो स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड र मोहन बैद्यबाट कम्युनिष्ट आन्दोलनप्रति धोका भएको आरोप लगाउँदै भूमिगत भएको विप्लव समूह गत फागुनमा सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएको थियो ।