NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आयोजनाको काम छिटो सकाैं : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा उक्त आयोजना निर्माण सम्पन्न हुन लागेको हो ।

आयोजनाको अवलोकन पश्चात् नेता पौडेलले आम उपभोक्तामा जतिसक्दो छिटो खानेपानीको पहुँच पु¥याउनु पर्नेमा जोड दिए । निर्माणका क्रममा केही समस्या परे आफ्नोतर्फबाट गर्नुपर्ने सहयोग सदैव साथ रहने प्रतिबद्धतासमेत उनले जनाए ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले आयोजना गौरवको विषय भएकाले उपभोक्ता, कार्यसमिति र निर्माण कम्पनी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले वडावासीका लागि खानेपानी प्रशस्त मात्रमा उपलब्ध गराउन आयोजनाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

कूल १५ करोड २४ लाख ३६ हजारको लागतमा निर्माण गर्न लागिएको उक्त आयोजना पराजुली कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । व्यास नगरपालिका–४ स्थित मादी नदी किनारबाट व्यास नगरपालिका-१ को अमिली भञ्याङमासम्म करिब पाँच किलोमिटर लामो दूरीबाट पानी ल्याउन लागिएको भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

विसं २०८० भदौमा उक्त आयोजनाको निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको र यसबाट प्रतिसेकेण्ड २६ लिटर पानी बहने क्षमता रहने समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताए ।

नेपालभरका अन्य खानेपानी आयोजनामध्ये १० आयोजनाभित्र भादगाउँ करादी खिरखाँदी खानेपानी आयोजना छनोट भएपछि उक्त आयोजनाको निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

साना ठूला गरी चार योजना तथा आयोजनाबाट सङ्कलन हुँदै आएको पानी उपभोक्तालाई वितरण गर्दै आइएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।

विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ सार्वजनिक धाराबाट सुरुवात गरिएकामा हालसम्म २६०० बढी निजी धारा जडान गरी पानी वितरण हुँदैे छ ।