NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

एमालेमा अन्तर्घात : ओलीबाट कारबाहीमा पर्ने भएपछि के भन्छन् घनश्याम भुसाल ?

कारबाही सत्यानाशको बाटो

काठमाडौं । वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन पार्टीभित्रबाटै अन्तर्घात भएको विषयले यतिबेला एमालेभित्र तरङ्ग उत्पन्न भएको छ । ६० देखि ६५ प्रतिशत तहमा विजयी हुने दाबीसहित निर्वाचनमा होमिएको एमालेले आफ्नै गढमासमेत शर्मनाक हार व्यहोर्यो । अन्तर्घातमा भूमिका खेल्ने नेता तथा कार्यकर्ताहरूको खोजी भइरहेको छ । केही स्थानबाहेक गठबन्धनविरुद्ध एक्लै चुनावमा होमिएको उसले योपटक ३० वर्षदेखि एकल वर्चश्व कायम राखेको गढसमेत गुमायो ।

अन्तिम परिणाम सार्वजनिक भएपछि १६ जेठमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले जनताले राम्रो मत दिएपनि पार्टीभित्रै अन्तर्घातले पराजय भोग्नुपरेको निष्कर्ष सुनाए ।

‘केही सिटमा एमाले तलमाथि भएपनि समग्रमा जनताले एमालेलाई लोकप्रिय मत दिएका छन्’, दलको बैठकमा ओलीले भनेका थिए, ‘अन्तर्घातका कारण हाम्रा उम्मेदवार धेरै ठाउँमा पराजित भए । यस्ता अन्तर्घातीहरूबारे पार्टीले छानविन गरी आवश्यक कारवाही गर्छ ।’
त्यस्तै ओलीले जन संगठन समन्वय समितिको बिहीबार बसेको बैठकमा आम जनताले एमालेलाई माया गरेपनि नेताहरूबाट नै पार्टी जोगाउन मुस्किल रहेको बताए ।

सचिवालयका एक सदस्यले भने, ‘यो भनेको सत्यानाशको बाटो हो । हेर्दै जाउँ उनले के–के गर्छन् ।’

‘आम जनताले माया गरेर एमालेलाई लोकप्रिय मत दिएर पहिलो दल बनाएका छन्’, उनले भने, ‘तर नेताहरूबाट नै पार्टीलाई जोगाउन मुस्किल परिरहेको छ ।’

ओलीले दाबी गरेजस्तै स्थानीय तह निर्वाचनमा अधिकांश स्थानमा एमाले प्रमुख, अध्यक्ष र वडाध्यमा पराजित भएको छ । उपप्रमुख, उपाध्यक्ष तथा सदस्यहरूमा विजयी भएको छ । अघिल्लोपटक सानदार जित निकालेको पोखरा, हेटौंडालगायत धेरै पालिकामा योपटक अन्तर्घातकै कारण आफ्नो वर्चश्व गुमेको एमालेको निष्कर्ष छ ।

एमाले हराउन केन्द्रीय सचिवालय सदस्यकै संलग्नता !

यसैगरी पार्टीहित विपरीत काम गरेको आरोपमा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ । भुसालले पार्टीहित विपरीत काम गरेको आरोप लगाउँदै १८ जेठमा बसेको एमाले अनुशासन आयोगको बैठकले उनलाई कारबाहीको लागि सिफारिस गरेको हो । पार्टीलाई हराउन भूमिका खेलेको, टेलिभिजन अन्तर्वार्तामा ओलीको राजीनामा मागेको विषय पार्टीहित विपरीत भएको आरोप भुसालमाथि लगाइएको छ । निर्वाचन मतपरिणाम सार्वजनिक भएपछिको अन्तर्वार्तामा भुसालले पार्टी पराजित भएको भन्दै नैतिकताको आधारमा अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने बताएका थिए ।

त्यस्तै पोखरामा विपक्षीसँग मिलेर आफ्नै उम्मेदवारालाई हराउन भूमिका निर्वाह गरेको आरोपमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल र केन्द्रीय सदस्य राजीव पहारीलाई स्पष्टीकरण सोध्ने तयारी भएको एक नेताले जानकारी दिए ।

‘अन्तर्घात गरी आफ्ना उम्मेदवार हराउन भूमिका खेल्ने जुनसुकै तहको नेता भएपनि कारबाही हुन्छ’, एमालेका एक नेताले भने, ‘गठबन्धनसँग साँठगाँठ गरी आफ्ना उम्मेदवारलाई हराउनु गम्भीर विषय हो । तल्लो निकायबाट प्रतिवेदन आएपछि हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

पोखरा अन्तर्घात के हो ?

गुरुङ, अर्याल र पहारीमाथि पोखराका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोप लागेको छ । पोखरामा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको प्रतिष्ठाको लडाईंले थापा पराजित भएको निष्कर्ष निकालिएको छ ।

१० वैशाखमा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयर पदमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई टिकट दिएको थियो । पौडेल गुरुङ निकट नेता हुन् । मेयरको टिकट पौडेलले पाएपछि असन्तुष्ट रहेका अधिकारी समूहले वर्षौ अघिको एक विवादास्पद सुन चोरीको भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि पार्टीभित्रैबाट ओलीलाई चर्को दबाव आएको थियो । पौडेलको उम्मेदवारीलाई लिएर दबाब थेक्न नसकेका ओलीले वैशाख १२ मा पौडेलको टिकट खोसेर थापालाई दिए ।

आफूनिकट नेताको टिकट खोसेर अधिकारीनिकट नेतालाई उम्मेदवार बनाएपछि गुरुङ पक्षले तीव्र असन्तुष्टि जनाए । गठबन्धनतर्फका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग मिलेर थापालाई हराउन गुरुङ, अर्याल र पहारीले महत्वपूर्ण भूमिका खेलेको आरोप अधिकारी पक्षको छ । अधिकारी पक्षले मतगणना चल्दैगर्दा गुरुङ पक्षका स्थानीय नेताले धनराजको पक्षमा मत मागेको दुई वटा अडियो नै सार्वजनिक गरिदिए । यो अडियो काण्डले एमालेभित्र खैलाबैला नै मच्चियो ।

सार्वजनिक भएको अडियोमा कृष्ण थापालाई हराउन पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव पद्मा अर्याल, केन्द्रीय सदस्य राजीव पहारी, केन्द्रीय सदस्य एवं इन्चार्ज भीम कार्कीलगायत नेताहरू लागेको दाबी गरिएको छ ।

उक्त अडियो एमाले केन्द्रीय सदस्य राजीव पहारीको सचिवालयको भएको अधिकारी पक्षको दाबी छ । उनी पृथ्वीसुब्बा समूहका हुन् । राजीवका स्वकीय सचिव मनोज पहारीले कृष्ण थापालाई मत नदिन भन्दै फोनमा धनराज आचार्यलाई मत मागेको अडियो मतगणना भइरहेको समयमा सार्वजनिक भएको थियो ।

कांग्रेसको रोग एमालेभित्र सरकोमा हामी निकै चिन्तित छौं । अन्तर्घातबारे पार्टीले छानबिन गरिरहेको छ । आगामी बैठकमा गम्भीर समीक्षा गरी यसबारे निष्कर्षमा पुग्छौं

अडियो काण्डमा मुछिएका पोखरा–३३ वडा कमिटी उपाध्यक्ष महेश अर्याल, पार्टी संगठित सदस्य प्रशान्त आचार्य र पोखरा–२१ का मनोज पहारीलाई निलम्बन गरिएको छ । एमाले कास्की जिल्ला कमिटी अध्यक्ष मानबहादुर गुरुङले जारी गरेको विज्ञप्तिमा विधानको धारा ८० अनुसार अनुशासन उल्लङ्घन गरिएको ठहर गर्दै धारा ८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढेको उल्लेख छ ।

अन्तर्घातले शीर्ष नेता नै आश्चर्यचकित !

अन्य दलभन्दा संगठनमा चुस्त र अनुशासित देखिएको एमालेभित्र नै अन्तर्घात देखिएपछि शीर्ष नेताहरू नै आश्चर्यमा परेका छन् ।
‘हामीले कांग्रेसभित्र अन्तर्घात भएको कुरा सुन्थ्यौं । त्यो कुनै नौलो विषय थिएन । तर एमालेभित्र अहिले जुन तहको अन्तर्घात देखियो, यो आश्र्चयको विषय हो’ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालवाचसँग भने, ‘कांग्रेसको रोग एमालेभित्र सरकोमा हामी निकै चिन्तित छौं । अन्तर्घातबारे पार्टीले छानबिन गरिरहेको छ । आगामी बैठकमा गम्भीर समीक्षा गरी यसबारे निष्कर्षमा पुग्छौं ।’

तर सचिव अर्यालले आफूहरूबाट कुनै अन्तर्घात नभएको जिकिर गरेकी छिन् । पोखरा लगायत केही ठाउँमा अन्तर्घात भएको कुरा आफूले सुनेको भन्दै उनले यसबारे पार्टीले छानबिन गरिरहको जानकारी दिइन् । ‘अन्तर्घात गरेको आरोपमा एमाले कास्कीले तीन जनालाई कारबाही गरेको छ । यो बाहेक अन्य विषयमा मलाई कुनै जानकारी छैन’, अर्यालले नेपालवाचसँग भनिन्, ‘पोखरा मात्र नभइ देशैभर भएको अन्तर्घातबारे छानबिन भइरहेको छ । अहिल्यै नै केही भन्ने अवस्था छैन ।’

आयोगले सिफारिस गरे अनुसार स्थायी कमिटी सदस्य भुसाललाई कारबाही गर्ने वा नगर्नेबारे केन्द्रीय कमिटीले निर्णय लिने बताइन् ।
‘अनुशासन आयोगले उहाँलाई कारबाही गर्न सिफारिस गरेको मैले सुनेको हुँ । आयोगले सिफारिस गरेको हो भने केन्द्रीय कमिटीबाहेक अन्य कमिटीले कारबाही गर्न मिल्दैन’, अर्यालले भनिन्, ‘सबै स्थानीय तहबाट रिपोर्ट आएपछि केन्द्रीय कमिटी बैठक बस्नेछ । त्यही बैठकले कारबाही गर्ने वा नगर्नेबारे निर्णय गर्छ ।’

भुसालमाथिको कारबाही सत्यानाशको बाटो

भुसालको सचिवालयले ओलीको विरोध गर्ने जति सबै कारबाहीमा पर्ने दाबी गरेको छ । ‘अन्तर्घातीको नाममा विरोध गर्ने जति सबैलाई खोजी–खोजी ओलीले कारवाही गर्छन्’, सचिवालयका एक सदस्यले भने, ‘यो भनेको सत्यानाशको बाटो हो । हेर्दै जाउँ उनले के–के गर्छन् ।’
कारबाही सिफारिस गरिएको सम्बन्धमा भुसालसँग सम्पर्क गर्दा यस विषयमा अहिले केही नबोल्ने बताए । ‘कसले के–के गर्छन्, यत्न–प्रयत्न हेर्दै जाउँ । यस विषयमा पछि बोलुँला’, उनले भने ।

पार्टी विभाजनबाट कमजोर देखिएको एमाले स्थानीय तहमा भएको अन्तर्घातका कारण थप शिथिल भएको छ । पार्टी कमजोर भएकै अवस्थामा अनुशासन आयोगले ओलीको विरोध गरेकै आधारमा भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेमा खैलाबैला मच्चिएको छ । बुढी मरी भन्दा पनि काल पल्किएकोमा चिन्तित रहेका ओली समयमै अन्तर्घातको रोक निदान गर्न नसकिए एमालेले आगामी निर्वाचनमा थप क्षति व्यहोर्ने देखिन्छ ।