NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

जनप्रतिनिधिसँग अन्तरक्रिया तथा सामुहिक रिर्पोटिङ कार्यक्रम सम्पन्न

शंकर चापागाईं , पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा जनप्रतिनिधिहरूसँग अन्तरक्रिया तथा सामुहिक रिर्पोटिङ कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा कार्यक्रम शनिवार सम्पन्न भएको हो । जिल्लाका पत्रकारहररूको क्षमता विकासका लागि दुई वर्षलाई तालिम वर्ष घोषणा गरिए बमोजिम सामुहिक रिपोर्टिङको कार्यक्रम गरिएको महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो । अन्तरक्रियाको क्रममा भेडेटार-रवि-राँके सडकको वर्तमान अवस्था, खानेपानी, स्वास्थ्य, सुशासन, सञ्चार क्षेत्रलगायत गाउँपालिकाको समग्र वर्तमान अवस्था र सुधारका लागि गर्नुपर्ने प्रयासहरूका बारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले गाउँपालिकाले सञ्चार माध्यमलाई कसरी हेरेको छ रु भन्ने सवालमा प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जिल्लामा रहेका सबै रेडियो तथा पत्र पत्रिकालाई समानुपातिक रुपमा विज्ञापन तथा सूचना दिइने प्रतिवद्धता जनाए । पालिकाको विकासका लागि ‘समृद्ध फाल्गुनन्द : कृषि, पर्यटन, पूर्वाधार र सुसंस्कृत समाज’ भन्ने नाराका साथ आगामी ५ वर्षका लागि विषयक्षेत्र रणनीतिक योजना, मध्यकालीन खर्च संरचना र राजस्व सुधार कार्ययोजना सहितको आवधिक गाउँ विकास योजना आव २०७८-७९ र ८२-८३ निर्माण गरिएको समेत तुम्रोकले बताए ।

अन्तरक्रियाकै क्रममा अध्यक्ष आङ्देम्बेले आगामी वर्षको बजेट निर्माण गर्दा कृषिलाई पहिलो प्राथमिकता राखिने बताए । कृषिजन्य बस्तुको उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी अघिबढ्ने उनकाे भनाइ थियाे । यस्तै उत्पादित वस्तुको बजारीकरणमा पनि गाउँपालिकाले ध्यान पुर्‍याउने बताए । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक अध्ययन गरि शिक्षाको सुधारमा लाग्नेसमेत उनले जनाए । नयाँ सडक निर्माण भन्दापनि भएका पुराना सडकको स्तरउन्नति गरी वर्षायाममा समेत यातायातका साधन सञ्चालन गर्न सक्ने बनाइने आङ्देम्बेले जानकारी दिए ।

कार्यक्रमका अध्यक्ष बाँस्कोटाले गाउँपालिकाले सञ्चारमैत्री नीति बनाउन आवश्यक रहेकोमा जोड दिए ।अन्तरक्रियापश्चात् सामुहिक रिपोर्टिङका लागि पत्रकारहरू, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्थानीय बासिन्दा समेतको टोली ऐतिहासिक धार्मिक पर्यटकीय स्थल सेहोः नाम्लाङ (छालासुकुवा) पुगेको थियो । सोही क्रममा सो क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्रको थप विकास गर्न आवश्यक रहेको र त्यसका लागि डिपिआर गरी गुरू योजना अघि बढाउने अध्यक्ष आङ्देम्बेले बताए ।