NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

महिला पीडामा रहेको आवाज बोल्छौं तर पुरूषको पीडा कसले बोल्ने ? : सांसद चौधरी

काठमाडौं । बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउनेबारे प्रतिनिधिसभामा चर्को बहस भएकाे छ ।

विगतमा भएका बलात्कारसम्बन्धी घटनालाई लिएर पीडित महिलाहरूले धमाधम उजुरी दिन थालेपछि यसबारे बहस सुरू भएको हो ।

आफूमाथि बलात्कार भएको आरोप लगाउँदै एक पीडित महिलाले जेठको पहिलो साता पाँच वर्ष अघि भएको घटना सार्वजनिक गरेपछि हदम्याद हटाउन सरकारलाई चौतर्फी दबाब परेको थियो ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारले सदनमा पेश गरेको विधेयकमाथि अहिले सांसदहरूले बहस गरिरहेका छन् । तर सरकारले पेश गरको विधेयकको सम्बन्धमा एक महिला सांसदले नै विरोध गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गंगा चौधरी हदम्यादको विरोध गरेकी हुन् । उनले पूर्वसमामुख कृष्णबहादुर महरा, अभिनेता पल शाह र पीडित सुस्मिताको नामै लिएर हदम्यादको विरोध गरेकी हुन् ।

‘जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने, जब स्वार्थ मिलेन अनि बलात्कारको संज्ञा दिने, यसभन्दा पहिले यस सम्मानित सदनमा बसेका पूर्वसमामुखको घटना पनि हामीले हेरेका छौं’, चौधरीले भनिन्, ‘जबसम्म स्वार्थ मिल्यो तबसम्म कसैलाई पत्ता भएन । जब स्वार्थ मिलेन अनि बलात्कारको संज्ञा दिएर उहाँलाई ६ महिनासम्म जेलमा कोचियो । त्यसकारण हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । त्यसैले यसबारे हामीले भुल्नु हुँदैन ।’

उनले महिला भएर महिलाको विरोधमा लागेको नभन्न आग्रह गरिन । आफू महिलामात्र नभइ सांसद भएकाले कानुन निर्माण गर्दा महिला र पुरूष दुवैलाई न्याय मिल्ने खालको हुनुपर्ने चौधरीको भनाइ छ ।

अहिले विदेशमा रहेका पुरूष तथा महिलाहरूको अवस्था दयनीय छ । महिला पीडामा रहेका आवाज त हामीले बोल्छौं । पुरूषको पीडा कसले बोल्ने ?’, सांसद चौधरीले प्रश्न गरिन्, ‘समाजमा धेरै महिला पीडित छन्, त्यासो भन्दैमा पीडित पुरूषका लागि पनि कानुन संशोधन हुन जरूरी छ ।’

कुन–कुन ठाउँमा हदम्याद राख्ने वा हटाउनेबारे गम्भीर छलफल आवश्यक रहेको उनले बताइन् ।