NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लोसपा फकाउँदै देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा १३ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सत्ता गठबन्धनमा जोड्ने गृहकार्य थालेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले संघ र प्रदेश निर्वाचनमा लोसपासँग सहकार्यको प्रस्ताव अघि सारेपछि देउवाले पनि सक्रियता बढाएका हुन् ।

‘गठबन्धन गर्ने प्रस्ताव ओली र देउवा दुवै पक्षबाट आएको छ । पहिला ओलीजीबाट आयो, पछि देउवाजीले पनि मिलेर जाऊँ भन्नुभएको छ । अबको निर्वाचनमा एउटा गठबन्धनमा जानुपर्छ भन्नेमा हामी छौं,’ लोसपा नेता राजेन्द्र महतोले भने, ‘कोसँग मिल्ने भन्ने सिटको कुरा हो । जसले हामीलाई चित्तबुझ्दो सिट दिन्छ उसैसँगै गठबन्धन हुन्छ ।’

लोसपाकै अर्का नेता शरदसिंह भण्डारीले भने कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन बन्नुपर्छ भन्ने वैचारिक मान्यतालाई आफूहरूले अघि सारेको बताए । ‘कांग्रेस र कम्युनिस्टबीच अहिले भएका गठबन्धनले राजनीतिक स्थिरता दिँदैन । वैचारिक मान्यतासहितको गठबन्धन भयो भने मात्रै राजनीति विकृति र विचलन मुक्त बन्छ । सरकारले स्थिरता पाउँछ,’ उनले भने, ‘अहिले वामपन्थी एकताको कुरासमेत उठेका बेला हामीले प्रधानमन्त्रीलाई यिनै कुरा सम्झाएका छौं ।’

‘प्रधानमन्त्रीको अर्जुनदृष्टि यही गठबन्धनलाई अघि बढाउनुपर्छ भन्नेमा छ । गठबन्धन भत्काउने शक्ति भित्रभित्रै लागिरहेको सूचना प्रधानमन्त्रीकामा नआउने कुरै भएन,’ प्रधानमन्त्रीनिकट एक नेताले भने, ‘भोलिका दिनमा जे पनि हुन सक्छ भन्ने ठानेर प्रधानमन्त्रीले लोसपालाई पनि विश्वासमा लिने रणनीति बनाउनुभएको हुन सक्छ ।’

देउवाले सरकारमा सहभागी गराउनेदेखि चुनावमा गठबन्धन गर्नेसम्मको विश्वास लोसपाका नेताहरूलाई दिएका छन् । पटक–पटकका संवादपछि लोसपा अध्यक्ष ठाकुर नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री देउवालाई भेटेरै ११ बुँदे माग बुझाएको छ ।

‘सरकारमा आउने पृष्ठभूमिका लागि नै मागपत्र बुझाइएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘संघ र प्रदेशको निर्वाचनसम्मै लोसपालाई विश्वासमा लिनुपर्छ भन्नेमा प्रधानमन्त्री हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवाले तत्काल सरकारमा ल्याउने चाहना राखे पनि लोसपालाई कसरी सहभागी गराउने भन्ने ढाँचामा टुंगो लागेको छैन । लोसपा सरकारमा आउने अवस्थामा दुईवटा मन्त्रालय दिन सकिने सोच कांग्रेसको भएको एक नेताले बताए । हाल रक्षा मन्त्रालय मात्र रिक्त छ । रक्षा अन्य दललाई दिन प्रधानमन्त्री इच्छुक छैनन् । कांग्रेसका कुनै मन्त्रीलाई रक्षामा लैजाँदा एउटा मन्त्रालय लोसपालाई तत्काल दिन सकिने भए पनि अर्को मन्त्रालयको टुंगो छैन । सरकारमा सहभागी जनता समाजवादीभित्र आन्तरिक द्वन्द्व चर्किएकाले यो बढ्दै गए उक्त पार्टीको एक हिस्सा सरकार बाहिर रहन सक्ने सम्भावना छ । देउवाले लोसपालाई नजिक ल्याउनुको अर्को कारण जसपाभित्रको द्वन्द्व पनि एक हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।