NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपालमा लगानी गर्न चिलीलाई चेम्बरको आग्रह

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न चिलीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपालका लागि चिलीका राजदूत जुवान एङ्गुलोबीच मंगलबार चेम्बर भवन कान्तिपथमा भएको भेटमा चेम्बरका अध्यक्ष एवं पदाधिकारीले चिलीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

भेटमा चेम्बरका अध्यक्ष मल्लले नेपालमा पर्यटन, जलस्रोत, सूचना प्रविधि, जडीबुटीलगायत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न चिलीलाई आग्रह गर्नुभएको हो । “नेपाल र चिलीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ, हामी सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत चिलीसँग आर्थिक सम्बन्ध थप बलियो र प्रभावकारी बनाउन चाहन्छौँ,’ उनले भने ।

अध्यक्ष मल्लले सो अवसरमा नेपाल चेम्बर र चिली चेम्बर अफ कमर्शबीच वाणिज्य तथा लगानीका क्षेत्रमा सहकार्य गर्न राजदूत एङ्गुलोलाई आग्रह गरेका थिए । ‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, चिलीको लगानी सुरक्षण गर्न हामी प्रतिबद्ध छौँ,’  उनले भने ।

अध्यक्ष मल्लले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै चिलीको लगानीमा उद्योग खोलेर भारत, चीनलगायत दक्षिण एसिया, युरोप र अमेरिकी बजारमा बिक्री गर्न सकिने बताए । भेटमा राजदूत एङगुलोले नेपालको वर्तमान आर्थिक अवस्था र लगानीको वातावरणबारे जानकारी लिएका  थिए । उनले नेपाल हिमालयको देश भएकाले पर्यटन क्षेत्रको अथाह सम्भावना रहेको बताए । नेपालमा लगानीको सम्भावनाबारे आफ्नो देशको निजी क्षेत्र र नागरिकलाई जानकारी गराउने उनको भनाइ थियो ।

ताजा अपडेट

नेपालवाच विशेष