NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

अघिल्लोपटक ५ मतले पराजित प्रदीप पौडेल तनहुँ २ बाट चुनाव लड्ने, के गर्लान् भण्डारी ?

काठमाडौं । कांग्रेस युवा नेता प्रदी पौडेलले तनहुँ २ बाट संघीय संसद्को चुनाव लड्ने घोषणा गरेका छन् । अघिल्लोपटक तनहुँ २ (क)बाट प्रदेशसभामा चुनाव लडेर पौडेल जम्मा ५ मतले पराजित हुन पुगेका थिए ।

माओवादीकी आशा कोइरालासँग पौडेल पराजित भएका थिए । अघिल्लोपटक तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी चुनाव लडे । तर पराजित हुन पुगे ।

यसपटक भने धेरै नेता रहेको तनहुँमा युवा नेता पौडेलले २ बाट चुनाल लड्ने घोषणा बिहीबार गरेका हुन् ।

स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको संयोजक रहेर प्रतिवेदन बुझाएपछि पौडेलले अब आफू तनहुँ २ बाट चुनाव उठ्ने तयारीमा रहेको बताएका हुन् ।

स्थानीय तहमा उम्मेदवार चयनमा गरिएको त्रुटीले पनि कतिपय ठाउँ गुमाउनुपरेको उनको भनाई छ ।

उम्मेदवारी चयनमा आगामी निर्वाचनमा पनि लोकप्रिय र युवा उम्मेदवारलाई प्राथमिकतमा राख्नुपर्ने उनले बताए । उनले आफूले पनि तनहुँ २ बाट उम्मेदवारी दिन तयारी गरेको बताए ।

‘म यही क्षेत्रको हुँ । मेरो यही क्षेत्रमा मेहनत परेको छ । लगानी पनि गरेको छु’ पौडेलले भने, ‘यसैले म यसपटक तनहुँ २ बाटै संघीय संसदका लागि चुनाव लड्छु ।’

तनहुँमा नेता रामचन्द्र पौडेलको बोलावाला चल्छ । यसपटक सभापति देउवासँग पनि पौडेलको राम्रो ट्युनिङ मिलिरहेको छ । यसैले उनले गर्ने समन्वयले तनहुँमा धेरै फरक पार्छ ।

रामचन्द्र पौडेलको चुनाव क्षेत्र तनहुँ १ हो । २०७४ सालमा भने पौडेल तत्कालीन एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए ।

एमाले विभाजन भएपछि श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा छन् । समाजवादीसँग सत्तारुढ दलको चुनावी तालमेल छ । यस्तोमा उम्मेदवार मिलाउन पनि तनहुँमा यसपटक गठबन्धनलाई सकस छ ।

अघिल्लोपटक २ बाट प्रदीप पौडेल पनि दाबेदार थिए । तर खुमबहादुर खड्का निकटका शंकर भण्डारीले टिकट पाए ।

यसपटक युवा नेता पौडेलले टिकट पाएन भण्डारी के गर्छन् भन्ने प्रश्न पनि तेर्सिएको छ । २०७० सालमा पनि भण्डारीले निक्कै संघर्षपूर्ण रुपमा टिकट पाएर जितेका थिए । यसपटक युवा नेता पौडेल उम्मेदवारमा अघि बढे उनी दबाबमा पर्ने भएका हुन् ।

१४ औं महाधिवेशनदेखि युवा नेता प्रदीप पौडेल पनि देउवा खेमामा आएका छन् । देउवातिरबाट उनले महामन्त्री लडेका थिए । तर पराजित हुन पुगे ।