भासिएकाे पृथ्वी राजमार्ग खुलाउन भित्ता काट्न सुरु
दमौली । पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि भित्ता काट्न सुरु गरिएको छ । यातायात सुरु गराउनका लागि भित्ता काट्न सुरु गरिएको हो । निरन्तर वर्षाका कारण आज बिहान राजमार्ग भासिएपछि दुईतर्फी सडक अवरुद्ध भएको छ ।
भित्ता काटेर साना गाडीसम्म सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘डेढ मिटरसम्म भित्ता काटेर एकतर्फीरूपमा साना गाडीसम्म चलाउन सकिन्छ भन्नेछ, उनले भने, बेलुकासम्म काम सकेर यातायात सञ्चालन हुन्छ ।’
सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । आँबुखैरेनी हुँदै चितवन, काठमाडौं जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका छन् । सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।
सडक भासिएको ठाउँमा एउटा कार समेत पुरिएको छ । कार पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये गोरखाको छोप्राक घर भई हाल आँबुखैरेनी गाउँपालिका-२ का ३५ वर्षीय केशव घिमिरे रहेको र अर्का मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
मानवीय क्षति अन्य पनि हुनसक्ने भएकाले खोजीकार्य भइरहेको छ । उक्त ठाउँबाट मोटरसाइकल खसे पनि चालक भने सकुशल भेटिएका थिए ।
सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ । यहाँ वैकल्पिक मार्ग नभएकाले यात्रुहरू मर्कामा परेका छन् ।
आँबुखैरेनी गाउँपालिकाका इञ्जीनियरहरू घटनास्थल पुगेका छन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक भासिएको ठाउँमा बेलिब्रिज राख्ने वा भित्ता फालेर सडक फराकिलो पार्ने भनेर अध्ययनपछि टुङ्गो लाग्ने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सडक भासिएको ठाउँमा अवलोकनका लागि प्राविधिक टोली पठाइएको जानकारी दिए । प्राविधिकको सुझावअनुसार अघि बढ्ने उनले बताए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया