NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सलमान खानको दुई पटक हत्या प्रयास

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई धम्कीपूर्ण पत्र प्राप्त भएको घटनामा हरेक दिन नयाँ खुलासा भइरहेका छन् । प्रहरी सोधपुछका क्रममा सौरभ महाकालले सलमानलाई ग्याङ्स्टर लरेन्स बिस्नोईले धम्की दिएको खुलासा गरेका छन् । महाकाल लरेन्सनिकट हुन् । लरेन्सले हत्याको धम्की मात्रै होइन, सम्पत नेहरा नामक सुटर पनि पठाएको कुरा हालै सार्वजनिक भएको छ ।

स्रोतका अनुसार सन् २०२१ मा लरेन्सले सलमानको हत्या गर्न सम्पत नेहरालाई सुपारी दिएका थिए । योजनाअनुसार उनी मुम्बई पनि पुगेका थिए । उनी मुम्बईको वाशी क्षेत्रमा बस्दै आएका थिए र उनले सलमानको घर अर्थात ग्यालेक्सी अपार्टमेन्टको रेकी पनि गरे ।

सलमान एक्लै भएको मौका छोपेर गोली हान्ने योजना ती सुटरको थियो । तर उनीसँग रहेको पेस्तोलले टाउकोमा धेरै टाढासम्म प्रहार गर्न सकेन । सलमानलाई सधैं अंगरक्षकहरूले घेरेका थिए, त्यसैले सम्पतले आक्रमण असफल हुने डरले बिस्नोईको आदेशमा सलमानमाथि आक्रमण नगरी फर्किए ।

टाइम्स नेटवर्कलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले खानमाथि हत्याको प्रयास भएको समाचारलाई प्रसारण गरिरहेका छन् ।

सम्पतले दोस्रोपटक आक्रमण गर्ने योजना बनाएका थिए । यसपटक उनले आफ्नो गाउँका दिनेश फौजीबाट आरके स्प्रिङ राइफल खरिद गरेका थिए । बिश्नोईले यो राइफल आफ्ना चिनजानका अनिल पाण्ड्येबाट ३–४ लाखमा किनेका थिए तर दिनेशसँग राइफल हुँदा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि सम्पत नेहरा पनि पक्राउ परेका थिए । यति मात्र होइन, फिल्म रेडीको सुटिङका ​​क्रममा पनि लरेन्सले सलमान खानमाथि हमला गर्ने योजना बनाएका थिए तर त्यो सफल हुन सकेनन् ।

यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ ।

तीन जना व्यक्ति उक्त पत्र पुर्‍याउन राजस्थानदेखि मुम्बई पुगेको मुम्बई प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा यो कुराको खुलासा भएको भारतीय सञ्चारमाध्यमा उल्लेख छ ।

सम्पत नेहरा ग्याङ्स्टर लरेन्स बिश्नोईको दाहिने हात मानिन्छन् । उनी चण्डीगढ प्रहरीका सेवानिवृत्त सहायक निरीक्षक रामचन्दरका छोरा हुन् । यति मात्र होइन, सम्पत राष्ट्रिय स्तरको डेकाथलन (हर्डल रेस) रजत पदक विजेता पनि हुन् । सम्पत पढाइकै क्रममा ग्याङ्स्टर लरेन्सको सम्पर्कमा आएका थिए । उनले लरेन्सलाई हरेक अपराधमा साथ दिएका छन् । सम्पत लरेन्स गिरोहका सार्प सुटर पनि हुन् ।