NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

श्रीमती लिन हिँडेका आफैं पहिरोमा परे

तनहुँ । चितवनस्थित माइती गएकी विष्णुमाया लामिछाने मुग्लिनको जाममा परेको खबर पाएपछि श्रीमान् केशव घिमिरे शुक्रबार बिहानै स्कुटर लिएर निस्के । आँबुखैरेनी–४ मर्स्याङ्दी विद्युत् गृहनजिक गुडिरहेका बेला सडक भासियो । उनी मर्स्याङ्दी नदीमा खसे ।

गोरखा सिरानचोक गाउँपालिका घर भएका घिमिरे आँबुखैरेनी–२ मा विद्युतीय सामग्रीको व्यवसाय गर्थे । मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएकाले श्रीमती लिन भन्दै उनी बिहानै ४ बजे घरबाट निस्केका थिए ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार सडक भासिँदा कार, मोटरसाइकल र स्कुटर मर्स्याङ्दी नदीमा खसेका थिए । बा १०च ४६७९ नम्बरको कार चालक हेटौंडा उपमहानगरपालिका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल र बा१५प २९५३ नम्बरको स्कुटर चालक घिमिरे मृत भेटिए । ग२३प १०८१ नम्बरको मोटरसाइकल चालकको भने सकुशल उद्धार गरिएको छ ।

सडक भासिएपछि आंशिक रूपमा साना सवारी आवागमनको व्यवस्था मिलाइए पनि ठूला सवारीसाधन पूर्ण रूपमा अवरुद्ध भएका छन् । सडकको कुनातर्फको पहरो काटेर साना सवारीको आवत–जावत सुचारु गरिएको प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले बताए । अर्को सूचना नभएसम्मका लागि उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।