NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नारायणगढ–मुग्लिन र आँबुखैरेनी सडक दुइतर्फी खुल्यो

काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गएराति १२ः४५ बजे चितवनको इच्छाकामना–६, तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।अहिले बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता, भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो ।

शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ ।

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ ।

दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ ।