NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

पाल्पाकाे ल्याण्डफिल्ड साइट प्रयोगविहीन

पाल्पा । पाल्पाको तानसेनमा फोहर व्यवस्थापन चुनौती बनेको छ । फोहर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल्ड साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन ।

तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल्ड साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयवासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन । फोहर व्यवस्थापनमा स्थानीय तहले तीन करोड रुपैयाँ भन्दा बढी लागतमा ल्याण्डफिल्ड साइट निर्माण गरेको थियो ।

फोहरमैला बस्ती नजिकै फालिने गर्दा मानव स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । सामुदायिक वनमा फालिएको फोहरले बाटोमा ओहोरदोहोर गर्ने यात्रुलाई दुर्गन्धले वारपार गर्न अप्ठ्यारो महसुस हुने गरेको छ । तानसेन क्षेत्रबाट मात्र दैनिक साढे दुई टन फोहर उत्पादन हुन्छ ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले लामो समयदेखि चुनौतीको विषय बनेको फोहर व्यवस्थापनको समस्यालाई कुन माध्यमबाट समाधान गर्न सकिन्छ, त्यसको अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताउए उनी भन्छन्, “सरोकारवाला सबैको समन्वयमा पहिला ल्याण्डफिल्ड साइटको अध्ययन गर्नेछौँ, तयार गरिसकेको संरचनाबाट फोहरको समस्या समाधान प्रक्रिया नहुने भएमा वैकल्पिक स्थान खोज्नेछौँ” ।