NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

प्लास्टिक खाने किरा पत्ता लाग्यो, प्रदूषण घटाउन सहयोग पुग्ने वैज्ञानिकको आशा

काठमाडौं । अष्ट्रेलियाका वैज्ञानिकहरुले प्लास्टिक खान मन पराउने एक किसिमको किरा भेटिएको बताएका छन् । जोफोबास मोरियो नामक एक किसिमको खपटेकिराको लार्भा रहेको पत्ता लगाएका हुन् ।

सुपरवर्म भनेर संकेत गरिएको यो लार्भा फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धानकर्ताहरुको छ ।

उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम (पाचनरस) ले प्लास्टिक पचाउन सहयोग गर्छ । यसले पोलिस्टाइरिन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने काम गर्ने अनुसन्धानकर्ता डा. क्रिस रिन्कले बताएका छन् ।

युनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्ताले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए ।

यसमा पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाए । यसका साथै उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए ।

अनुसन्धानले यसअघि नै केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको थियो । याे अनुसन्धान माइक्रोबायल जेनोमिक्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएकाे छ ।