NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

म राप्रपामा प्रवेश गर्न लागेको खबर झुटो हो : रवीन्द्र मिश्र

 

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले राप्रपा प्रवेश गर्न लागेको समाचार झुट भएको बताएका छन् । तर उनले ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि एकीकरण र ध्रुवीकरणको पक्षमा भने आफू खुला रहेको प्रष्ट पारेका छन् ।

बुधबार प्रकाशित एक दैनिक पत्रिकाले विवेकशील साझा छाडेर मिश्र राप्रपामा प्रवेश गर्न संवादमा जुटेको समाचार प्रकाशित गरेको थियो । मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट् लेख्दै त्यसमा सत्यता नरहेको बताएका छन् । उनले एकपक्षीय ढंगले हचुवाका भरमा समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेका छन् ।

‘आज केही सञ्चारमाध्यममा मबारे प्रकाशित समाचार झुट हुन्,’ मिश्रले लेखेका छन् ।

देशलाई शीरमा राखेर नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको खाँचो भए पनि त्यसको सख्त अभाव नेपालमा रहेको उनको भनाइ छ ।

देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा मडरेट कन्जर्भेटिभको स्पेस पूरै खाली रहेको मिश्रले बताएका छन् ।

‘जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ(राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक–सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ। नेपालमा अहिले त्यस्तो पार्टी छैन,’ मिश्रले लेखेका छन् ।

समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन पनि ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माण आवश्यक भएको र त्यसका लागि आफू पहिलेदेखि नै एकीकरण र ध्रुवीकरणको पक्षमा रहेको उनले प्रष्ट पारेका छन् ।

आफूले चाहेजस्तो शक्तिको निर्माण सामूहिक प्रयासबाट मात्र सम्भव हुने पनि मिश्रले प्रष्ट पारेका छन् । ‘म एक्लै कतै जोडिएर त्यो संभव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन, एकीकरण र ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ,’ उनले भनेका छन् ।