NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पाकिस्तानीहरुलाई किन चिया कम पिउन भनियो ?

इस्लामाबाद । पाकिस्तानका जनतालाई देशको अर्थतन्त्रको हितका लागि ‘चिया कम पिउन’ भनिएको छ । वरिष्ठ मन्त्री एहसान इकबालले चियाका कपको संख्या घटाएर अर्थतन्त्रको हितमा जनताले योगदान दिन सक्ने बताए ।

उनले कप चियाको संख्या घटाउनु भनेको उच्च आयात बिल कटौती गर्नु भएको बताए । पाकिस्तानमा विदेशी मुद्रा सञ्चितिको अवस्था निकै खराब छ ।

अहिलेको अवस्थाको कुरा गर्ने हो भने सबै आयातका लागि दुई महिनालाई पुग्ने वैदेशिक मुद्रा मात्रै बाँकी छ । यस्तो अवस्थामा पाकिस्तानमा तत्काल विदेशी कोष बढाउनु पर्ने दबाब छ । पाकिस्तान विश्वमा सबैभन्दा बढी चिया आयात गर्ने देश हो । पाकिस्तानले हरेक वर्ष करिब ६० करोड डलर मूल्यको चिया खरिद गर्छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इकबालले जनतालाई अपील गर्दै भने, ‘म देशका जनतालाई चियाको कप एक-दुई कप कटौती गर्न अपील गर्दछु किनभने हामी ऋणमा चिया आयात गरिरहेका छौं ।’ विद्युत्‌ बचतका लागि पसलेहरूले पनि राति साढे ८ बजे चिया पसलहरू बन्द गर्ने उनले बताए ।

पाकिस्तानमा आर्थिक संकटसँग जुध्न सानो स्तरमा धेरै कदम चालिएको छ । कम चिया पिउने यो सुझावलाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले धेरै चर्चा गरिरहेका छन् । धेरैले ‘आर्थिक संकटबाट गुज्रिरहेको देशमा चिया कम पिएर सुधार होला ? भनिरहेका छन् ।

एक दिन अघि पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले सोमबार यदि सरकारले जुलाईसम्म पेट्रोलियम उत्पादनहरूमा सब्सिडी हटाएन भने देश पूर्वनिर्धारित अवस्थामा जाने बताएका थिए । अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पेट्रोलियम पदार्थमा दिइने अनुदान हटाउनमा जोड दिएको अर्थमन्त्रीले एक सञ्चार माध्यमसँगको कुराकानीमा बताए ।