NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आर्थिक लाभका लागि पर्यटनमन्त्री आलेको चलाखी : आफन्तलाई तारागाउँमा भर्ती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका व्यक्तिबाट ‘आर्थिक लाभ’ हुने छाँटकाँट नदेखेपछि उनले पार्टी नेतृत्वलाई झुक्याउँदै सदस्य सचिव पदमा भतिजा पर्ने महेन्द्रबहादुर थापालाई नियुक्ति दिलाएका हुन्।

गत मंसिर २८ गते तत्कालीन सदस्य सचिव झविन्द्र ज्ञवालीले अध्यक्ष प्रह्लाद न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए। त्यसपछि रिक्त सो पदबाट ‘आर्थिक लाभ’ उठाउने चाहना मन्त्री आलेमा पलाएको स्रोतको दाबी छ। उनको सो चाहनामा नेकपा एस नेतृत्व बाधक बन्ने छाँटकाँट देखियो। ‘पार्टी (नेकपा एस) नेतृत्वले अघिल्लो कार्यकालमा सदस्य सचिव भएर राम्रो काम गरेको भन्दै नारद लुइँटेललाई सिफारिस गरेको थियो,’ स्रोतले भन्यो, ‘तर लुइँटेललाई सो पदमा ल्याउने चाहना मन्त्रीज्यूको थिएन।’ अघिल्लो कार्यकालमा लुइँटेलले तारागाउँमा रहेको हायात रिजेन्सी होटलले अतिक्रमण गरेको १५० रोपनी जग्गाको विवरण सार्वजनिक गरेर प्रशंसा कमाएका थिए।

मन्त्री आलेको ‘ट्रिक’!

स्रोतका अनुसार पार्टी नेतृत्वले दबाब दिएपछि लुइँटेललाई नै नियुक्त गर्नुपर्ने बाध्यता मन्त्री आलेलाई आइलाग्यो। त्यसपछि सुरुमा उनले लुइँटेलबाटै ‘आर्थिक लाभ’ उठाउन खोजेको दाबी गरिएको छ। ‘सुरुमा उहाँ (लुइँटेल) सँग तपाईंलाई नियुक्ति गर्छु, त्यसबापत पैसा दिनुपर्छ भनेर मन्त्रीले बार्गेनिङ गर्नुभएको थियो। तर लुइँटेलले दिन मान्नुभएन,’ स्रोतले भन्यो। यति भइसक्दा पनि मन्त्री आलेले नियुक्ति रोक्न सक्ने अवस्था थिएन। त्यसपछि उनले ‘आइडिया’ निकाले ‘नियुक्ति त गर्ने तर असफल हुनेगरी!’ सोहीअनुसार फागुन २५ गते उनले नियुक्ति प्रक्रिया नै विवादित बन्नेगरी लुइँटेललाई सदस्य सचिव नियुक्त गरिदिए।

तारागाउँ विकास समिति गठन आदेश, २०३४ (पहिलो संशोधन २०६१) मा सदस्य सचिव मन्त्रिपरिषद्को बैठकबाट नियुक्त हुनुपर्ने व्यवस्था छ। तर मन्त्री आलेले लुइँटेलको नियुक्ति रित बिग्रनेगरी आफैंले मन्त्रीस्तरीय निर्णयबाट गरिदिएको स्रोतको दाबी छ। रित नपुर्‍याई दिइएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट पर्‍यो। ‘रित नै नपुग्ने भएपछि रिट पर्नु स्वाभाविक थियो,’ स्रोतले भन्यो, ‘यो सबै मन्त्री आलेको चलाखीपूर्ण चाल थियो। नत्र मन्त्रीलाई नियुक्ति प्रक्रिया थाहा नहुने कुरै थिएन।’

त्यसपछि रिटमा सर्वोच्च अदालतले नियुक्ति तत्कालका लागि रोक्न भनेर ‘अल्पकालीन आदेश’ जारी गरेको थियो। मुद्दा टुंगो नलागेसम्म लुइँटेललाई सदस्य सचिवका रूपमा काम गर्न सर्वोच्चले रोकेको थियो। अहिले पनि सो मुद्दा सर्वोच्चमा विचाराधीन छ। यसैक्रममा जेठ १७ गते तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेलाई आर्थिक अनियमितता गरेको भन्दै पर्यटन मन्त्रालयले बर्खास्त गरेको थियो। त्यसपछि अध्यक्ष पनि रिक्त थियो।

यही अवस्थामा मन्त्री आलेले जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्य सचिवमा भतिजा पर्ने थापालाई नियुक्त गराएका हुन्। अध्यक्षमा नियुक्त जोशी डडेलधुराका स्थायी बासिन्दा हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई खुसी बनाउन मन्त्री आलेले जोशीलाई नियुक्त गराएको स्रोतको दाबी छ। तारागाउँ विकास समिति गठन आदेशअनुसार अध्यक्षको भूमिका भने ‘सेरोमोनियल’ हुन्छ।

कार्यकारी पद सदस्य सचिवमा भने मन्त्री आले भतिजा पर्ने थापालाई ल्याउन सफल भए। थापा नेकपा एमालेमा रहँदा मामुली कार्यकर्ता मात्रै थिए। पहिलो स्थानीय तह निर्वाचन, २०७४ पछि उनी डोटीकै जोरायल गाउँपालिकाको गाउँसभा सदस्यमा निर्वाचित भएका थिए। एमाले विभाजनपछि मन्त्री आलेकै बलमा सिनियर नेताहरूलाई पन्छाउँदै उनी नेकपा एस डोटी जिल्ला इन्चार्ज बने। यतिखेर मन्त्री आलेकै स्वकीय सचिवालयमा पनि उनी कार्यरत छन्।

तारागाउँमा लुइँटेलको नियुक्ति बिगारेर थापालाई ल्याउन हायात रिजेन्सी होटलको पनि कनेक्सन रहेको स्रोतको दाबी छ। ‘उहाँ (लुइँटेल) को हायातसँग पुरानै समस्या छ। तर मन्त्रीज्यू भने प्रभावित हुनुहुन्छ। यही कारण यति सबै भएको हो,’ स्रोतले भन्यो। मन्त्री आलेले भतिजा थापालाई सदस्य सचिवमा नियुक्त गराइसक्दा लुइँटेल नियुक्तिविरुद्धको रिटको भने सर्वोच्चले अन्तिम फैसला गरिसकेको छैन। मुद्दा किनारा नलाग्दै आफ्नो स्थानमा मन्त्री आलेले भतिजालाई ल्याएपछि लुइँटेल असन्तुष्ट बनेका छन्।

तारागाउँ विकास समितिमा सदस्य सचिवको कार्यकाल चार वर्षको हुन्छ। काठमाडौंको महत्वपूर्ण स्थानमा रहेको यो विकास समितिसँग ठुलो मात्रामा चलअचल सम्पत्ति छ। यसबाहेक यसको पर्यटकीय महत्व पनि उत्तिकै छ। बौद्धमा रहेको चर्चित हायात रिजेन्सी होटल पनि तारागाउँकै जमिनमा पर्छ। यी संरचनाबाट ठुलै लाभ हुने भएकाले राज्यको पहुँचमा रहेकाहरूबीच तारागाउँ विकास समितिमा आउन माथापच्ची चलिरहन्छ। यही माथापच्चीमा यसको इतिहास विवादित छ। आजको नागरिक दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष