तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा
सप्तरी। स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ २१ गतेदेखि मूलगेटमा तालाबन्दी गरेका थिए ।
जिल्लाकै ठूलो उक्त पोल्ट्रीमा तालाबन्दीपछि कुखुरा मर्नुका साथै अण्डा संकलन कार्यसमेत ठप्प भएको छ । दैनिक करिब १२ लाखभन्दा बढीको घाटा भइरहेको उद्योगका प्रबन्धक टुरदेव अधिकारीले जानकारी दिए । ‘दाना खुवाउन नसक्दा धमाधम कुखुरा मर्न थालेका छन्, उनले भने, ‘तीन दिनमा करिब एक हजारभन्दा बढी कुखुरा मरेका छन् ।’ पोल्ट्रीमा एक लाख २५ हजार कुखुरा रहेका थिए । दाना खुवाउन नसक्दा कुखुरा मर्न थाले पनि टुलुटुलु हेर्नुबाहेक केही गर्न सक्ने अवस्था नरहेको अधिकारीले बताए ।
विसं २०५७ मा स्थापना भएको सो पोल्ट्रीमा यसअघि दैनिक करिब ८० हजार अण्डा उत्पादन हुँदै आएको थियो । अधिकारीले भने, ‘तालाबन्दी भएकाले अहिले अण्डा उत्पादन १०–१५ हजारमा झरेको छ ।’ अहिले उत्पादन भइरहेको अण्डा संकलन र बजार पठाउने काम ठप्प छ । फोहरमैला व्यवस्थापन गर्न प्रयास जारी रहे पनि स्थानीयवासीले पोल्ट्री नै अन्यत्र सार्न माग गरेको अधिकारी बताउछन् ।
बस्तीमा दुर्गन्ध फैलिएकाले तालाबन्दी गरिएको स्थानीय श्रवण चौधरीले बताए । ‘फोहरमैलाका कारण दुर्गन्ध फैलिएको छ, हामी नाक थुनेर बस्नुपर्ने अवस्था छ ।’ खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले दुवै पक्षलाई बोलाएर छलफल गरी समस्या समाधानका लागि पहल भइरहेको बताए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया