गुण्डाहरूले आक्रमण प्रयास गरेका हुन्, हातपात गरेको होइन : उपप्रमुख किशोरी साह [अन्तर्वार्ता]
![गुण्डाहरूले आक्रमण प्रयास गरेका हुन्, हातपात गरेको होइन : उपप्रमुख किशोरी साह [अन्तर्वार्ता]](https://nepalwatch.com/wp-content/uploads/2022/06/Kishori-Sah_1200x600px-06-19-1.png)
काठमाडौं । अतिक्रमण भएको कुटीको जग्गामा लफडा हुँदा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि हातपातको प्रयास भएको छ । जनकपुरधाम उपमहानगरपालिका-२३ बेलागाउँस्थित रामजानकी दुल्हा भगवान कुटीको जग्गा खाली गराउने विषयमा उपप्रमुख साहमाथि हातपातको प्रयास भएको हो ।
नागरिक समूहका व्यक्तिहरूले अतिक्रमित कुटीको जग्गा खाली गर्न दबाब दिँदै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन आएका थिए । तर प्रमुख साहलाई नदेखेपछि उप्रमुख किशोरीलाई ज्ञापानपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै कानुनबमोजिम कुटीको जग्गा खाली गर्न नमिल्ने उपप्रमुख साहले तर्क गरेपछि गुण्डाहरू आक्रमणमा उत्रिएको उनको भनाइ छ । कुटीको जग्गा अतिक्रमण गरी बेचबिखन गर्न लागिएको भन्दै खाली गराउनका लागि २३ नम्बर वडाका वडाध्यक्ष राघवेन्द्रप्रसाद सहित सक्रिय रहेका थिए । तर उपप्रमुख साहले आफू उजाड्न नआएको भन्दै बसाल्न आएको तर्क गरेका छन् ।
वैशाखमा सकिएको स्थानीय तह निर्वाचनमा साह कांग्रेसबाट निर्वाचित भएका थिए । आफूमाथि आक्रमण भएको विषयमा नेपालवाचसँग साहले संक्षिप्त कुराकानी गरेका छन् –
अतिक्रमित जग्गा खाली गराउने विषयमा तपाईंमाथि आक्रमण भएको भनिएको छ, वास्तवमा भएको के हो ?
हैन, हैन त्यस्तो केही भएको छैन । जनताहरूले मेयर साबलाई खोज्न आएका थिए । नभेटेपछि मैले ज्ञापनपत्र बुझिलिँए । त्यहिक्रममा केही उदण्ड व्यक्तिहरूले आक्रमणको प्रयास गरेका हुन् ।
आक्रमण गर्नेहरू स्वतन्त्र समूह हो कि अन्य कुनै पार्टीका कार्यकर्ताहरू हुन् ?
ज्ञापनपत्र बुझाउन आउने आफूलाई नागरिक समाज भन्छन्, को-को हुन् म चिन्दिनँ ।
उहाँहरूको माग चाहिँ के थियो ?
माग चाहिँ बेलाकुटी छ, हामीकहाँ । यहाँ धेरै कुटी-कुटी छ । बेलाकुटीको जग्गामा पहिल्यैदेखि घर बनेको छ । अब कसरी बनायो त्यो कुटीले जान्ने कुरा हो । उहाँहरूले ज्ञापनपत्र लिएर आउनुभएको थियाे । सबै पक्षसँग छलफल गरेर यसलाई निराकरण गर्छु भनेको थिएँ । हामी त यहाँ बसाल्न आएको हो, उजाड्न आएको होइन् । सम्बन्धित निकायले कानुनबमोजिम जे गर्छ, त्यही हुन्छ ।
त्यो चाहिँ सरकारी जग्गा हो कि के हो ?
कुटीको जग्गा हो । जनकपुरमा गुठी र कुटीको जग्गा थुप्रै छ । ७५ प्रतिशत जग्गा गुठीको छ ।
उहाँहरूले आफ्नो नाममा गर्न दबाब दिनुभएको हो ?
नगरपालिकाले उजाड्ने रे । त्यस्तो पनि कतै हुन्छ ? नियम मिच्न त पाइएन नि ।
अहिले उहाँहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ कि छैन ?
छैन । अहिले स्थिति ठीकै छ । जनताहरूको भिडभाड छ । हामी जनप्रतिनिधि हौं । त्यस्तो त भइहाल्छ नि । कोही जोडले बोल्छ । कोही बुझेर बोल्छ । कोही हातै चम्काएर बोल्छ । यो त भइरहन्छ । हामी पनि गथ्र्यौं । अहिले पो जनप्रतिनिधि बनेर आएको छु ।
तपाईहरूकै सिको गरेको हो कि ?
हामीहरूको सिको गरेको भन्दा पनि देशमा स्वतन्त्रता पाएपछि आफ्नो गुनासो गर्ने तरिका नबुझेर अलग तरिकाबाट गर्छन् । उदण्ड तरिका अपनाउँछन् ।
तपाईंमाथि हातपात गरेको त होइन ?
छैन । छैन ।
प्रतिक्रिया