NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एन्फाको निर्वाचन आज, शेर्पा र नेम्वाङ प्यानलसहित प्रतिस्पर्धामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले आफ्नो कार्यकाल पूरा गरेपछि नयाँ नेतृत्व चयन गर्न लागिएको हो । एन्फा विधानमा एउटा कार्यसमितिको कार्यकाल ४ वर्ष रहने प्रावधान छ ।

काठमाडौंको बूढानीलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा बिहान ९ बजे कार्यक्रम उद्घाटन हुने र लगत्तै निर्वाचन प्रक्रिया सुरु हुने एन्फाले जनाएको छ ।

एन्फाको नेतृत्व हत्याउन हालका अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राजीव पौडेल मैदान उत्रिएका छन् । यीमध्ये शेर्पा र नेम्वाङबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।

१३ सदस्यीय खुल्ला केन्द्रीय सदस्यमा अनिल श्रेष्ठ, भरत बुढ थापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रूपेश अधिकारी, विनोद लामा तामाङ, दीपक थापा क्षेत्री, प्रवीण यादव, मणिराज विष्ट र टीका लामा छन् । पेमा डोल्मा लामा र बिना श्रेष्ठले शेर्पाको प्यानलबाट महिला सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेम्वाङले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा विराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशीलाई मैदानमा उतारेका छन् । त्यसैगरी सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, विजय घले, निरज खड्गी, मुखिला लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रवीन्द्र चन्द, दीपेन्द्र धिमाल, प्रवीण सुवाल, तपेश्वर कुमार राउतले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यमा बिन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।

अध्यक्षका प्रत्यासी राजीव पौडेललगायत केही पदाधिकारी र सदस्य विना प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लबका ८४ मतदाताले मताधिकार प्रयोग गरेर आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।