बरदान बन्यो पालिकाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र

झापा । दक्षिण झापाको कचनकवल गाउँपालिकाले गत वर्षदेखि सञ्चालन गरेको सर्पदंश उपचार केन्द्र स्थानीयवासीका लागि अकाल मृत्युबाट बचाउन बरदान साबित भएको छ ।
गोमन, करेत लगायतका अति विषालु सर्पले डसेमा तत्काल उपचार नपाए बिरामीको ज्यानै गुम्ने गर्दछ । तर, भौगोलिक विकटताका कारण विषालु सर्पले डसेका बिरामीलाई उपचारका लागि ३० किलोमिटर टाढा चारआली सर्पदंश उपचार केन्द्र धाउनुपर्दा बर्सेनि औसत आठजना कचनकवलवासीको बाटैमा मृत्यु हुने गरेको थियो ।
गाउँमै उपचार केन्द्र सञ्चालनमा आएपछि कसैले पनि अकाल मृत्युवरण गर्नु नपरेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख जागेश्वरप्रसाद यादवले बताए। बर्खासँगै झापामा विषालु सर्पको त्रास बढ्ने गरेको हुँदा छिमेकी पालिकाहरु भद्रपुर र बाह्रदशीसहित भारतको किसनगञ्ज जिल्लाका बिरामीहरु समेत उपचारका लागि कचनकवल आउने गरेको उनले जानकारी दिए।
कचनकवल गाउँपालिकाको वडा नं ६ स्थित बनियानी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा ६ शैयाको सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको छ । सो केन्द्रबाट एक वर्षको अवधिमा सर्पले डसेका २४४ जनाले उपचार सेवा लिएका छन् ।
पालिकाले आन्तरिक स्रोत परिचालन गरेर गत वर्ष असारदेखि ३० लाख रुपैयाँको लागतमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
कचनकवलवासीको वर्षौ देखिको पीडामा मलम लगाउन सफल भएको सर्पदंश उपचार केन्द्रलाई साधन, स्रोत र सुविधा सम्पन्न बनाउन पालिकाले योजना बनाइरहेको उनको भनाइ छ ।
“गाउँबस्तीमा साना भुइँघरहरु हुन्छन्, जहाँ लुकेर बसेको सर्पले मानिसलाई जुनसुकै बेला डस्न सक्छ,” उनले भने, “हरेक वर्ष सात आठ जनाले ज्यानै गुमाउनु परेको थियो । अब सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै कसैले उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपरेको छै्न् ।”उपचार केन्द्रमा अक्सिजन सिलिन्डर र पेसेन्ट मोनिटरिङ मेसिन जडान गरिएका छन् ।
स्वास्थ्य केन्द्रका एकजना मेडिकल अधिकृतसहित ६ जना स्वास्थ्यकर्मीले सर्पदंश उपचार केन्द्रमा सेवा प्रदान गरिरहेका छन् । आइसियु र भेन्टिलेटर सुविधा नभएको हुँदा सर्पदंशका सिकिस्त बिरामीलाई रेफर गरेर विर्तामोडका सुविधासम्पन्न अस्पतालमा पठाउनु परेको स्वास्थ्य शाखाका प्रमुख यादव बताउँछन् ।
उपचार केन्द्रलाई गत वर्ष नै दाताबाट एउटा भेन्टिलेटर मेसिन प्राप्त भएको छ । तर स्रोत अभावमा त्यसलाई जडान गरेर सञ्चालनमा ल्याउन सकिएको छैन । स्थानीयवासीले स्रोत जुटाएर छिटोभन्दा छिटो भेन्टिलेटर मेसिन जडान गर्नुपर्ने बताउँदै आएका छन् ।
स्वास्थ्य शाखाका प्रमुख यादवले भेन्टिलेटर सञ्चालनमा आएपछि उपचारमा कुनै समस्या नहुने बताए। झापामा कचनकवलको समेत चारवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।
चारआलीमा नेपाली सेनाले, कनकाई नगरपालिकामा सहारा नेपालले र दमकमा रेडक्रस सोसाइटीले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया