भारत र चीनमा तेलको बजार खोज्दैछ रुस

काठमाडौं । युक्रेनमा भएको आक्रमणपछि पश्चिमी देशहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसले रूसलाई आफ्नो अर्थतन्त्र बचाउन नयाँ उपायहरू खोज्न बाध्य बनाएको छ ।
रूसले आफ्नो विशाल तेल र ग्यास उद्योगको लागि नयाँ ग्राहकहरू खोज्नुपरेको छ ।
फलस्वरूप, अब चीन रुसको तेल र ग्यासको मुख्य आपूर्तिकर्ता बनेको छ । रुसी सरकारले कथित रूपमा चीनलाई तेल र ग्यासको मूल्यमा छुट दिने प्रस्ताव गरेको छ । यसले आफ्ना उत्पादनका लागि नयाँ बजार खोज्न सहयोग पुगेको छ ।
रुसले आफ्नो तेल र ग्यास बेच्न भारतीय बजारलाई पनि नजर लगाएको छ । तथ्यांकका अनुसार युक्रेनमा आक्रमण हुनुअघि रुसको कुल तेल निर्यातको एक प्रतिशत मात्रै भारतलाई बेचेको थियो तर मे महिनामा यो संख्या बढेर १८ प्रतिशत पुगेको छ ।
रुसमा तेल र ग्यासबाट निर्यात हुने आम्दानी घट्दै गए पनि उर्जा क्षेत्रबाट अझै आम्दानी भइरहेको छ । उर्जाबाटै भएको आम्दानी युक्रेन युद्धमा खर्च गर्नका लागि पर्याप्त छ ।
सस्ताे तेल र ग्यास
चीनबाट प्राप्त तथ्याङ्कअनुसार रुसबाट कच्चा तेलको आयात मे महिनामा ८४.२ लाख टनको रेकर्ड स्तरमा पुगेको छ । यसमा पूर्वी साइबेरियन प्रशान्त महासागर पाइपलाइनबाट आउने कच्चा तेल पनि समावेश छ । यसरी गत वर्षको तुलनामा मे महिनामा रुसबाट कच्चा तेलको आयात चीनमा ५५ प्रतिशतले बढेको छ ।
सिनोपेक र जेनहुआ आयल जस्ता चिनियाँ सरकारी स्वामित्वका कम्पनीहरूले विगत केही महिनामा पहिलेभन्दा धेरै कच्चा तेल खरिद गरेका छन् । युक्रेनमा हमलापछि पश्चिमी देशहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएर रुसी तेल र ग्यास खरिदबाट टाढिएपछि रुसले यी कम्पनीहरूलाई कच्चा तेलको मूल्यमा उल्लेख्य सहुलियत दिएको थियो ।
बदलिएको अवस्थामा साउदी अरेबिया अब रुसपछि चीनको दोस्रो ठूलो तेल निर्यातकर्ता बनेको छ । मे महिनामा साउदी अरेबियाले चीनलाई ७८.२ मिलियन टन तेल आपूर्ति गरेको थियो ।
तर, आर्थिक प्रतिबन्धको सामना गरिरहेका देशहरूमध्ये चीनले रुसबाट मात्रै तेल किनेको होइन । यो सूचीमा इरान पनि परेको छ । सोमबार जारी गरिएको तथ्यांकअनुसार चीनले मे महिनामा इरानबाट २.६० लाख टन कच्चा तेल किनेको थियो । डिसेम्बर यता इरानसँगको यो तेस्रो तेल सम्झौता हो ।
कानुनी खाडल
सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सिआरइए) द्वारा गत साता जारी गरिएको प्रतिवेदनअनुसार आर्थिक प्रतिबन्धलगत्तै रुसको पेट्रोलियम उत्पादनको बिक्री निरन्तर घटेको छ ।
यद्यपि, यस प्रतिवेदनमा रुसले आफ्नो निर्यात जारी राख्नका लागि कानुनी त्रृटिहरु खोज्नेबारे धेरै चेतावनी दिइएको छ । यसमा कच्चा तेललाई प्रशोधनका लागि भारतजस्ता तेस्रो मुलुकमा निर्यात गरी प्रशोधित तेल युरोपेली मुलुकमा पठाउन सकिने कानुनी बाटोहरु रहेका छन् ।
युराेपेली मुलुकबीच द्वन्द्व
युरोपेली देशहरु अझै पनि रुसको तेल र ग्यासका मुख्य ग्राहकहरू छन् । एक अनुमानअनुसार युक्रेनमा भएको आक्रमणको पहिलो सय दिनमा रुसले तेल र ग्यास निर्यातबाट करिब ९७ अर्ब डलर प्राप्त गरेको थियो । त्यसमध्ये ५९ अर्ब डलरबराबरको तेल युरोपेली संघका देशहरूमा निर्यात भएको थियो ।
रुसबाट युरोप आउने पेट्रोलियम पदार्थमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा युरोपेली मुलुकबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । युरोपेली संघले यस वर्षको अन्त्यसम्ममा समुद्री मार्गहुँदै रुसबाट आउने कच्चा तेलको आयात रोक्ने योजना बनाएको छ । यसो भएमा इयूमा आयात हुने तेलमा ६० प्रतिशतले कमी आउनेछ ।
यसबाहेक युरोपेली संघले मार्चमा रुसबाट एक वर्षभित्र कम्तिमा दुई तिहाई ग्यास आयात कटौती गर्ने निर्णय गरेको छ । तर, अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला खरिदमा पूर्ण प्रतिबन्ध लगाएको छ । योसँगै बेलायतले सन् २०२२ अघि यो काम गर्ने अपेक्षा गरिएको छ ।
रुसको वर्तमान अवस्थाको भारत र चीन दुवैले पूरा फाइदा उठाइरहे पनि युरोपेली प्रतिबन्धको प्रभाव छिट्टै देखिने भएकाले यो लामो समयसम्म नहुने चेतावनी अर्थ विश्लेषकहरुले दिएका छन् ।
प्रतिक्रिया