मन्त्री छोड्न नमानेको भन्दै झाँक्रीमाथि खनिए आफ्नै दलका विद्यार्थी नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु समाजवादीका अध्यक्ष सुदेश पराजुलीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्री छोड्न नमानेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सरकारबाट फिर्ता बोलाउने पार्टीको निर्णयलाई मन्त्री झाँक्रीले अस्वीकार गरेकोमा आपत्ति जनाउँदै ‘म नै राज्य हुँ’ भन्ने सोचबाट मुक्त हुन नसकेको आरोप लगाएका छन् ।
हिजो मुखमा लगाएको टेप खोलिखोलि स्टन्ट मारिमारि गरेको भाषण खोक्रो आदर्श मात्र भएको उनले टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत फ्रान्सेली राजा लुई चौधौको ‘म नै राज्य हुँ’ को उदाहरण दिँदै उनले आजभोलि झाँक्रीको हकमा ‘म नै मन्त्री ,मन्त्री नै म’ भन्ने भनाई पनि सुनिन थालिएको उल्लेख गरेका छन् ।
‘म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन । मेरो अन्तिम ध्येय मन्त्री नै हो । मन्त्री बने पछि÷भए पछि गर्ने भनेको माफिया दलालको सेटिङ्मा काम गर्ने कमाउनेबाहेक अरू नसोच्ने यस्तो उद्देश्य केवल मेरा लागि भन्ने भावना भएकाहरुबाट क्रान्ति समाजवाद भन्ने त कल्पना मात्र हो’, उनले लेखेका छन्, ‘अनि हिजो मुखमा लगाएको टेप खोलि खोलि स्टन्ट मारिमारि गरेको भाषण त केवल ख्रोको आदर्शबाहेक के हुन सक्छ त कमरेड ? मन्त्रीबाहेक पनि जीवन जगत छ भन्ने बुझ्ने हो कि ? एकथान मन्त्री त तपाईंले हिजो बोकेको मुल्य मान्यता रहे बाँचेमा कति हो कति ,धेरैपटक मन्त्री ,त्योभन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउछ ।’
तर मुल्य मान्यता सिद्वान्त मरेमा वा सकिएमा इतिहासमा गोरेबहादुर खपाङ्गी , बद्री मण्डल, टंक ढकाल पनि मन्त्री नै थिए भन्ने हेक्का राख्न चेतावनी दिएका छन् ।
प्रतिक्रिया