ओली नसच्चिए आगामी दिन एमालेका लागि थप प्रतिकुल हुन्छ : माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी संघीय निर्वाचन एमालेका लागि थप प्रतिकुल हुने बताएका छन् ।
अखिल नेपाल महिलासंघ(समाजवादी)को तेस्रो विस्तारित केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेपालले एमालेको आगामी यात्रा थप ओरालो लाग्ने टिप्पणी गरेका हुन् । नेपालले ओलीसँग दास भएर बस्ने कि संविधान र व्यवस्था बचाउनका लागि विद्रोह गर्ने भन्ने विकल्प रहेकोमा आफूले विद्रोह रोजेको बताए ।
‘हामीसँग ओलीको दास भएर बस्ने, राजनीतिबाट सन्यास लिएर गेरु वस्त्र धारण गर्ने वा विद्रोह गर्ने भन्ने तीन विकल्प थिए’, उनले एमालेसँग विद्रोहको अवस्थाबारे स्मरण गर्दै भने, ‘तर हामीले ओलीको दास भएर बस्न चाहेनौं । संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षाका लागि हामीले विद्रोह रोज्यौं ।’
उनले आफूलाई ओलीले कमजोर ठानेर पेल्न खोज्दा त्यसको परिणाम एमालेले भोगेको बताए । अझैपनि ओली नसच्चिए उनको लागि आगामी यात्रा झनै अप्ठ्यारो हुने उनले दावी गरे।
त्यस्तै एमालेसँग विद्रोह गर्दा आफूले धेरै हन्डर ठक्कर खाएको स्मरण गर्दै नेपालले भने– ‘त्यतिबेला आफूले सांसदहरूलाई चन्द्रागिरी रिसोर्टमा लगेर दुई दिन नराखेको भए ओलीले हाम्रो सबै योजना असफल पार्ने थिए । ओलीले आफ्नो योजना असफल पार्ने योजना थाहा पाएर नै हामीले सांसदहरूलाई नयाँ बानेश्वरबाट सिधै चन्द्रागिरी रिसोर्ट लगेर राख्यौं ।’
ओलीले १० भाइलाई दौडधुप गर्न लगाएर नक्कली सहमति गर्न लगाएको आरोप लगाउँदै एमालेलाई जेठ २ फर्काउने सहमति अहिलेसम्म कार्यान्वायन नभएको नेपालले टिप्पणी गरे ।
प्रतिक्रिया