NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

आम नागरिकमा बीमा पहुँच पुर्‍याउन सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने

काठमाडाैं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पु-याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

बीमा समितिको आयोजनामा सोमाबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले साे औंल्याएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पु-याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पोखरेलले असंगठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए ।

अध्यक्ष सिलवालले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्दै आर्थिक रूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवं गरिब वर्गलाई बीमाको पहँुचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको र आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, आगामी कार्यदिशा र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।