आम नागरिकमा बीमा पहुँच पुर्याउन सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने
काठमाडाैं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पु-याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
बीमा समितिको आयोजनामा सोमाबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले साे औंल्याएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पु-याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पोखरेलले असंगठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।
गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए ।
अध्यक्ष सिलवालले बीमालाई आत्मसात गरेर अगाडि बढ्दा नै सरकारले जनताको हित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सक्ने उल्लेख गर्दै आर्थिक रूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवं गरिब वर्गलाई बीमाको पहँुचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे ।

अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न तीनवटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको र आगामी आर्थिक वर्ष २०७९/०८० मा गण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने जानकारी दिए ।
कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती, आगामी कार्यदिशा र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया