यी दुई बार्सिलोनाका सिनियर खेलाडी जसले मेसीलाई क्लबबाट निकाल्न भूमिका खेले

काठमाडौं । गत वर्षको जुलाईमा अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेसी स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गए । २१ वर्षसम्म बिताएको क्लब बार्सिलोना छोड्नुपर्दा मेसी भक्कानिएका थिए ।
सन् २०२० तिर मेसीले क्लब छोड्न खोज्दा क्लबले नै रोकेको थियो । तर, उनी गत वर्ष क्लब छोड्न चाहदैन थिए । तर, क्लबले आर्थिक कारण देखाउँदै मेसीलाई क्लबमा राखिराख्न नसक्ने बतायो । यस विषयलाई लिएर क्लबका अध्यक्ष जोआन लापोर्टाको खुबै आलोचना भयो ।
तर, अहिले आएर एउटा तथ्य बाहिरिएको छ । कप्तान मेसीलाई क्लबबाट हटाउनलाई उनका नजिकका साथीसमेत रहेका दुई सिनियर खेलाडी नै लागेका थिए । स्पेनिस मिडियाका अनुसार तत्कालीन उपकप्तान तथा वर्तमान कप्तान सर्जियो बुस्केट्स र वर्तमान उपकप्तान जेरार्ड पिकेले नै मेसीलाई क्लबमा नराख्न अध्यक्ष लापोर्टालाई दबाव दिएका थिए । यी दुवै स्पेनिस खेलाडी हुन् ।
मेसीलाई दिने महंगो तलबका कारण क्लब आर्थिक संकटमा फस्ने भन्दै उनीहरूले क्लबका अध्यक्षलाई भनेका थिए ।
क्लबबाट आफूलाई हटाइने थाहा पाएपछि मेसी ५० प्रतिशत तलब घटाउन सहमत भएका थिए । यद्यपि, उनले यो लचकता पनि क्लबले स्वीकारेन । यसमा पनि पिके र बुस्केट्सको भूमिका रहेको बताइन्छ ।
पछिल्लो समय मेसी र डिफेण्डर पिकेबीच सम्बन्ध चिसिएको थियो । डिफेन्सको कमजोरीका कारण च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८ गोल खाएको भन्दै मेसीले आलोचना गरेपछि पिके रिसाएका थिए । अन्ततः यही विषय मेसीको बहिर्गमनसम्म पुगेको बताइन्छ ।
पिके र बुस्केट्स मेसीका सहकर्मीमात्र नभएर कुनैबेलाका मिल्ने पनि साथी हुन् ।
प्रतिक्रिया