NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आज दही च्युरा खाने दिन, धान दिवस पनि मनाइँदै

काठमाडौं । आज धान दिवस मनाइँदै छ । त्यसैगरी आजको दिन दही च्युरा खाने प्रचलन पनि छ ।

विसं २०६१ मंसिर २९ गते सरकारले मन्त्रिस्तरीय निर्णय गर्दै असार १५ लाई धान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता यो दिवस मनाइँदै आएको छ ।

यस वर्षको धान दिवसको मूल नारा ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ छ ।

धानको उत्पादन वृद्धि गर्न सरकारले जोड दिँदै आए पनि हरेक वर्ष घटिरहेको छ । उत्पादनमा कमी हुँदा आयात अकाशिएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ ।

दिवसका अवसरमा विगत वर्षमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम गरिँदैछ ।

दही च्युरा पनि खाइँदै 

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।

पखाला लागेका बेला दहीच्युरा खाएमा औषधिको काम गर्छ । यसैले दहीच्युरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत्रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा दहीच्युरा खाने पर्वका साथै राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।