NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

वन्यजन्तुको आक्रमणः काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा बुधबार बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो ।

बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए ।

उनले भने “फार्मका हेरालुले सुरुमा बिरालो भन्ठानेछन्, पछि कालिज मार्दै खाँदै गएपछि चितुवा भन्ने थाहा पाएर चिच्याएपछि जुन ठाउँबाट छिरेको त्यहीँबाट भागेछ ।” उक्त फार्ममा बाख्रा, टर्की र कुखुरापालन गरिएको छ ।

भाले कालिज बिक्री गर्ने गरिन्छ भने पोथी चल्ला उत्पादनका लागि पालन गरिएको नेपालले बताए। उनका अनुसार एउटा भाले कालिज दुई हजार देखि दुई हजार ५ सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरिन्छ । “आठ लाखभन्दा बढीको क्षति भयो”, नेपालले भने । उनले सरोकारवाला निकायलाई घटनाबारे जानकारी गराइ चितुवा नियन्त्रणको माग गरिएको बताए ।

यसअघि सोही नगरको १ नं वडास्थित नगरकोट हलेदेमा गतवर्ष बँदेलले सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको थियो । बँदेलबाट अन्नबाली जोगाउन स्थानीयवासी रातभरी आलोपालो कुरुवासमेत बसेका थिए ।

स्थानीयवासी दीपक बस्ताकोटीका अनुसार बँदेल आतङ्कले गाउँलेसमेत घरमा बस्न डराएका थिए । “त्यतिबेला अन्नबालीमात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको थियो, यसपाली पनि त्यही हुने हो कि, मकै फल्ने बेला हुन लाग्यो” उनले भने । उनका अनुसार विशेषगरी राति समूह समूहमा आएका बँदेलले फल्न थालेको मकैबाली सखाप पारेका थिए ।

अघिल्लो वर्ष पनि नगरको १२ वडामध्ये आठ र नौ बाहेक सबैमा बाँदरले खेतबारीको बालीमा क्षति पुर्‍याएको थियो । त्यतिबेला नगरले पहिलो चरणमा १२ नं वडाका स्थानीयवासीलाई सामूहिक रूपमा प्रयोग गर्न बाँदर धपाउने १५ यन्त्र दिएको थियो ।

घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको पाइएको छ । जसका कारण जङ्गल नजिक बस्तीका किसानका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।

पाँचखाल नगरपालिका–१३ कोसीदेखिका बासिन्दा तीन वर्षदेखि बँदेल र बाँदरले बालीमा पुर्‍याउँदै आएको क्षति सहँदै तिनका आतङ्कले निकै आजित छन् ।

स्थानीयवासी यमलक्ष्मी थपलियाले भनिन् “बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खान्छन्, अझ केही बाली त, रोपेकै दिनदेखि उखेलिदिन्छन् ।” बासिन्दा जङ्गली जनावरबाट मानिस र बाली जोगाउन आग्रह गर्दै आएका छन् ।

उनीहरू जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता रहेको स्थानीय जनप्रतिनिधिसँग दुःखेसो पोख्छन् । “बँदेलको दुःख त छँदैछ, गाउँमा बाँदर पस्न थालेको पनि तीन वर्षभयो, हामीले नेतासँग हारगुहार माग्दै आएका छौँ” पाँचखालका एक स्थानीय भन्छन् “नगरप्रमुखलाई पटक–पटक भेट्दा आश्वासन मात्र पाइन्छ ।” नगरप्रमुख महेश खरेलले भने जङ्गली जनावरको आतङ्कलाई दीर्घकालीन समस्या समाधानको बाटो खोजिरहेको प्रतिक्रिया दिए ।

बनेपा नगरपालिका–३ काँक्रेका किसान गोकुल बजगाइँ वन बाक्लिँदा जङ्गली जनावर पनि बढ्दै गएकाले मानिसका लागि थप चुनौती बन्दै गएको बताउँछन् । उनले भने “वनमा बँदेलको सङ्ख्या बढ्दा आलुलगायतका खेतीबाली नष्ट हुँदै गइरहेका छन् ।” उनका अनुसार प्रत्येक वर्ष बँदेलले खेतबारीमा लगाएको आलु रोपेकै दिन हुँडलेर सखाप बनाइदिन्छन् ।

काभ्रेपलाञ्चोकमा वन क्षेत्रमा जोडिएर रहेका बस्तीमा जङ्गली जनावरले बाली तथा घर पालुवा जनावरलाई समेत क्षति पुर्‍याएपछि समाधानका लागि छलफल पनि चलाउने गरिन्थ्यो ।

जिल्लास्थित संवाद समूहले केही महिनाअघिसम्म विभिन्न स्थानीय तहमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे विभिन्न चरणमा सरोकारवालासँग संवाद गर्दा अधिकांश किसानले बँदेल र बाँदरको समस्या देखाउँदै आएका थिए ।

डिभिजन वन कार्यालय धुलिखेलका वनअधिकृत देवीचन्द्र पोखरेल जिल्लाका अधिकांश वनभित्र आवश्यक सङ्ख्याभन्दा बढी बँदेल भइसकेकाले किसानसँग द्वन्द्व बढ्ने खतरा बढेको बताउँछन् । उनले भने “कति सङ्ख्यामा कलिङ गर्ने भनेर नीतिमै परिवर्तन नगरेसम्म जङ्गली जनावरको आतङ्क न्यूनीकरण गर्न सकिँदैन ।”

पोखरेलका अनुसार कार्यालयसँग वन्यजन्तु न्यूनीकरणका लागि कुनै योजना नबनाए पनि क्षति भएपछि क्षतिपूर्ति दिने काम भइरहेको छ । “एक वन–एक घाँसे मैदान र एक पोखरी भन्ने सचेतना अभियानमा लागिरहेका छौँ”, उनले भने ।

उनका अनुसार वन्यजन्तुको आतङ्क रोक्न प्राकृतिक रूपमा वनमै वन्यजन्तुको आहारको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिन्छ । डिभिजन वन कार्यालयका अनुसार बितेको १३ वर्षमा काभ्रेपलाञ्चोकमा जङ्गली जनावरको आक्रमणबाट १४ जनाको मृत्यु र आधा दर्जनको सङ्ख्यामा घाइते भएका छन् ।

कार्यालयमार्फत मानव मृत्यु तथा घाइते तथा वर्षैपिच्छे अन्नबाली क्षति, घरपालुवा जनावर तथा पशुपक्षीको क्षतिपूर्ति दिँदै आइएको छ । गत आर्थिक वर्षमा १४१ जनालाई अन्नबाली र चौपायामा पुगेको क्षतिको १६ लाख रुपैयाँ बराबरको राहत दिएको थियो । सरकारको प्रावधानअनुसार मृतकका प्रतिपरिवारलाई १५ लाख रुपैयाँ तथा घाइतेको अवस्था हेरी उपचार खर्च दिइन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष