NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

देउवाको एकलौटीविरुद्ध शेखर पक्षको छुट्टै भेला, समानान्तर संगठनसम्मको चेतावनी

काठमाडौं । महाधिवेशनमा पाएको ४० प्रतिशत हिस्सालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको भन्दै कांग्रेसमा डा. शेखर कोइराला पक्षले विरोधमा भेला बोलाएको छ । आज दिउसो २ बजे बस्ने भेला देउवाको पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थामा गरिएको एकलौटी कदमविरुद्ध भएको शेखर पक्षले जनाएको छ ।

साथै, शेखर पक्षले देश आर्थिक रुपमा संकटोन्मुख हुँदा पनि सरकारले प्रभावकारी नीति अघि सार्न नसकेको विषयमा पनि छलफल हुने जनाइएको छ ।

कांग्रेस सह-महामन्त्री जीवन परियारले समसामयिक राजनीति र आन्तरिक समस्याका विषयमा छलफलका लागि बैठक बोलाइएको जानकारी दिए ।
‘समसामयिक राजनीति, चुनावी समीक्षा, पार्टीका समितिहरूलाई पूर्णतासहितका विषयमा छलफलका लागि बोलाइएको भन्ने छ ।’

बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्यसहितका नेता सहभागी हुनेछन् ।

‘महाधिवेशनमा हामीले ४० प्रतिशत हिस्सा पाएको थियौं । तर सभापतिले पहिलो दिनदेखि ६ महिनासम्म आइपुग्दा एकलौटीपनबाहेक केही देखाउनुभएको छैन’ शेखर पक्षका एक नेता भन्छन्, ‘केन्द्रीय सदस्यमा आफू निकट मात्रै मनोनित गर्ने, भ्रातृ संस्थामा एकलौटी गर्ने, पदाधिकारीमा विभेदपूर्ण रुपमा जिम्मेवारी नदिने काम भएको छ । यसैले विरोधमा हामीले बैठक बोलाएका हौं ।’

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई अधिकार थोपरे पनि शेखर पक्षबाट जितेका धनराज गुरुङलाई जिम्मेवारी नै नदिएकोप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।

यतिमात्रै होइन १४ औं महाधिवेशनमा देउवा पक्षबाट पदाधिकारीमा उठेका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे पनि आफूपक्षका कुनै पनि नेतालाई केन्द्रीय सदस्यमा मनोनित नगरिएको भन्दै शेखर पक्ष आक्रोशित छ ।

मुख्य गरी उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित गर्न आनाकानी गरेकोप्रति शेखर पक्ष आक्रोशित छ ।

साथै, अब संघ र प्रदेशको चुनावमा केन्द्रित हुनुपर्ने भन्दै शेखर पक्षले चुनावमा सम्मानजनक रुपमा आफूहरूले टिकट पाउनुपर्ने मुद्दा उठाउँदै छ ।

सभापति देउवा स्थानीय तहको निर्वाचनमा जस्तै फेरि पनि सत्तारुढ दलबीच गठबन्धन गरेर जानुपर्ने पक्षमा छ । तर धेरै ठाउँमा गठबन्धनको पक्षमा शेखर पक्ष छैन ।

आफूहरूको माग सम्बोधन हुने अवस्था नआए आगामी केन्द्रीय समितिको बैठकसमेत बहिष्कार गर्ने तयारीमा शेखर पक्ष छ । देउवाको पेलेरै जाने नीति कायम भए समानान्तर समिति बनाउनेसम्मको चेतावनी उनीहरूको छ ।

देउवाले नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा, विद्वान गुरुङ, किसान संघमा गणेश तिमल्सिना र आदिवासी जनजाति संघको अध्यक्षमा ओम थापामा मनोनित गरेका थिए । यी सबै देउवा पक्षका हुन् । आधा दर्जत भ्रातृ संस्थामा संयोजक तोक्दासमेत देउवाले एकलौटी गरेको आरोप उनीहरूको छ ।

साथै, स्थानीय तहको चुनाव भएको लामो समय भए पनि अहिलेसम्म चुनावी समीक्षा बैठक नै नडाकेकोप्रति पनि शेखर समूह आक्रोशित छ ।