NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

निगुरो टिप्दा गोली प्रहार

बर्दिया । जिल्लाको गुलरिया नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रमा निगुरो टिप्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। कर्तनियाघाट वाइल्ड लाइफ सेन्जुरीको घना मूर्तिहा जंगलमा निगुरो खोज्दै पुगेका गुलरिया नगरपालिका—३ बनकट्टाका ५४ वर्षीय हेमराज गोडियाको मृत्यु भएको हो। उनलाई अज्ञात स्थानबाट चलाइएको गोली लागेको प्रहरीले जानकारी दिएको छ।

हेमराजको दाहिने खुट्टामा गोली लागेपछि उपचारका लागि आफन्तले गुलरिया अस्पताल पुर्‍याएका थिए। उनी गोली लागेपछि घर फर्किएको र उपचारका लागि परिवारले अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए। ‘परिवारले गोली लागेपछि घर आएको र अवस्था गम्भीर बन्दै गएपछि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताएका छन्। अझै पनि हामी यो विषयमा अनुसन्धान गरिरहेका छौं,’ प्रनाउ सुवेदीले भने।

जंगलमा गोली कसले र किन चलायो ? अनि उनी कसरी घर आइपुगे भन्ने विषय गम्भीर भएकाले सूक्ष्म अनुसन्धान भइरहेको सुवेदीको भनाइ छ। ‘जंगलमा गोली लागेका व्यक्ति कसरी फर्किए ? निगुरो साग टिप्न वा अन्य कुनै कारणले जंगल गएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृतकका परिवारले धेरै कुरा खुलाउनु भएको छैन। घटनाको सबै विवरण आइसकेको छैन।’ सबै सत्यतथ्य अनुसन्धान पछि सार्वजनिक गर्ने उनले बताए।

हेमराजको पारिवारिक स्रोतका अनुसार गोडियालाई भारतीय जंगलमा गोली लागेपछि उनी भागेर नेपालतर्फ आएका हुन्। दौडने क्रममा उनी लडेका थिए। नेपालतर्फ आइसकेपछि उनले घरमा फोन गरेर घटनाको बारेमा परिवारमा जानकारी गराएका हुन्। लगत्तै छोरा र श्रीमती पुगेर उनलाई एम्बुलेन्सको व्यवस्था गरी गुलरिया अस्पताल पुर्‍याएका हुन्। उनी निगुरो टिप्दाटिप्दै भारततर्फको जंगलमा पुगेका थिए।

बिहीबार बेलुका नै घटना भए पनि शुक्रबार मात्रै बाहिर आएको छ। परिवारले राति नै उपचारका लागि अस्पताल पुर्‍याएका थिए। भारतीय सुरक्षाकर्मीले भने घटनाको बारेमा जानकारी नभएको बताएका छन्।

नेपाल भारत दुवैतर्फका सुरक्षाकर्मीले घटनाको सूष्म अनुसन्धान गरिरहेको बताएका छन्। ‘भारतीय सुरक्षाकर्मीले पनि अनुसन्धान गरिरहेको छ र हामीले पनि। अहिले सम्म दुवैतर्फ केही खुलेको छैन,’ प्रनाउ सुवेदीले भने। दुवैतर्फका सुरक्षाकर्मीले वाइल्ड लाइफ सेन्चुरीको जंगलमा संयुक्त गस्ती पनि गरिएको उनले जानकारी दिए। नेपालका तर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले घटनास्थल पुगेर अनुगमन गरेको छ। अनुगमनका क्रममा कुनै संकेत फेला नपरेको जनाइएको छ। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष