NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

पहिरोको जोखिममा बस्ती

लमजुङ । बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो ।

गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताए । “उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ ।

उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ, उनले भने “वर्षा भएपछि पहिरोले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ ।”

वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरो पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएकोे वडाका कर्मचारीहरुले बताए ।

पहिरोले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ ।

लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ । वडाध्यक्ष गुरुङले भने , “पहिरो निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सर्फा गर्दै काम गछौँ ।” वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक–पटक आएको पहिरोले थप क्षति पुर्‍याउनाका साथै अन्य दुईस्थानका सडक नै बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिँडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएकोे उनको भनाइ थियो ।

पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन् । त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिरोले आधा पुरेको छ ।

बस्तीमा पनि १० घर पहिरोले जोखिममा पारेको छ । यही असार १ गतेको पहिरो र त्यसपछि बेला–बेलामा खसेको पहिरोले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पुर्‍याएकोे वडासदस्य लालबहादुर तामाङले बताए । उनले भने “जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन् ।