NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

शेखरले किन भेटे कांग्रेसका यी पुराना नेता ?

काठमाडौं । सभापतिले एकलौटी रुपमा पार्टी चलाएको भन्दै आफू निकटका नेताको भेला बोलाएको दुई दिनलगत्तै कांग्रेस नेता डा. शेखर कोइरालाले पुराना नेतासँग संवाद गरेका छन् ।

आइतबार साँझ शेखरले अहिले सक्रिय नरहेका नेतासँग संवाद गरेका हुन् । शेखरको सचिवालयले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेको जनाएको छ ।

छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल ब. केसी, नेताहरु तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइराला सहभागी थिए ।

आफू निकटका भेलामा शेखर पक्षले देउवाको एकलौटी निर्णय नमान्नेभन्दै पार्टी संचालनको शैली बदल्न चेतावनी नै दिएको थियो ।
आइतबार पुराना नेताहरुसँग शेखरले कांग्रेस पहिलेको जस्तो बलियो र प्रभावशाली नभएको बताएका थिए । सत्ता गठबन्धनको नाममा अव्यवहारिक गठबन्धन गरिएको र पहिलेकै जसरी प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरिए कांग्रेसका लागि झन् कठिन हुने बताएका थिए ।
पुराना नेताहरुले पनि फेरि पनि चुनावी तालमेल गर्नुअघि व्यवहारिक भएर सोच्न आग्रह गरेका थिए ।

पुराना नेताहरुले कांग्रेसको राजनीतिमा आफ्नो युवाकालीन उर्जा बिताएका नेतालाई व्यवस्थापन गर्न माग गरेका थिए । निष्ठावान नेतालाई पछि पार्ने तर प्रभाव पार्न सक्ने ठेकेदारदेखि उद्योगीसँग भित्र्याएर पार्टीलाई झन् कमजोर बनाएको बताएका थिए ।

प्रतिनिधिसभाको निर्वाचन अघि सरोकारवालाहरुसँग संवाद गरेर देउवालाई चुनावी गठबन्धन नगर्न, सबैलाई समेटेर भूमिका दिन, सबैको हिस्सा स्वीकार्न दबाब दिने पक्षमा शेखर छन् ।

आगामी २७ असारमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा हुने बताइएको छ । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेस ३२९ तहको नेतृत्व जितेर पहिलो पार्टी भएको थियो ।
्तर शेखर पक्षले यो नतिजालाई पनि अपेक्षित नभएको जिकिर गरेको छ । एक्लै लडेको भए पनि यो भन्दा बढी सिट जित्ने दाबी शेखर पक्षको छ । तर सभापति देउवा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि फेरि चुनावी तालमेलको पक्षमा छन् ।