NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

एकीकृत समाजवादीमा माओवादीसहितकाे वाम एकताबारे बहस, होला त एकता ?

काठमाडौं । भर्खर केन्द्रीय परिषद् बैठक सकेको नेकपा (एकीकृत समाजवादी) पार्टीले माओवादीसहित वाम एकताबारे छलफल अगाडि बढाउने भएको छ ।

सोमबार कान्तिथपस्थित होटल यलो प्यागोडामा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले निर्वाचनअघि वाम एकताका लागि आएको प्रस्तावबारे सचिवाका सदस्यहरूलाई ब्रिफिङ गरेका थिए ।

आइतबार तत्कालीन नेकपाका बहुमत पदाधिकारी बैठकमा वामदेव गौतमले वाम एकताको प्रस्ताव गरेका थिए । सोही विषयमा भएका कुराकानी अध्यक्ष नेपालले सचिवालय बैठकमा जानकारी गराएपछि वाम एकताको बहस सुरू भएको हो ।

बैठकमा वाम एकताको प्रस्ताव सकारात्मक भएपनि हतारमा कुनै निर्णय गर्न नहुने सदस्यहरूले नेतृत्वलाई सुझाव दिएको उपाध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिए ।

‘केन्द्रीय परिषद् बैठकबाट आएको सुझाव, वाम एकताका लागि आएको प्रस्ताव र समसामयीक राजनीतिबारे अध्यक्षले वैठकमा जानकारी दिनुभयो’, उनले भने, ‘वाम एकता अहिलेको आवश्यक र सकारात्मक भएपछि हतारमा निर्णय नहुनेबारे हामीले सुझाव दिएका छौं । यस विषयमा पार्टीमा गम्भीर छलफल गरेर निर्णय लिनुपर्छ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धनमा माओवादीबाट धोका भएको निष्कर्ष निकालेको एसले माओवादीलाई अवसरवादी भएको र आगामी दिनमा दम्ब बढ्न सक्ने निष्कर्ष केन्द्रीय परिषद् बैठकले निष्कर्ष निकालेको थियो ।

असार १४ मा नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका गौतमले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरी पार्टी एकताका लागि दबाब दिएका थिए ।

आइतबार नेपाल, प्रचण्ड, गौतम लगायत तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरूबीच निर्वाचन अघि पार्टी एकता गर्ने गरी गौमतले प्रस्ताव ल्याएका थिए । भेटवार्ता सकारात्मक भएको भन्दै आगामी दिनमा छलफलाई निरन्तरता दिने सहमति भएको थियो ।