NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेटरलाई समान पारिश्रमिक

काठमाडौं । न्युजिल्यान्डमा महिला र पुरुष क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने सहमति भएको छ । न्यूजिल्याण्ड क्रिकेट र खेलाडी संघले मंगलबार पुरुष र महिला क्रिकेटरले पाँच वर्षसम्म समान पारिश्रमिक पाउने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतामा अन्तर्राष्ट्रिय र घरेलु स्तरका महिला खेलाडीले सबै फर्म्याट र प्रतियोगितामा पुरुष सरह समान म्याच शुल्क पाउनेछन् । अगस्ट १ देखि लागू हुने गरि महिला राष्ट्रिय टोली, घरेलु महिला खेलाडी, न्युजिल्यान्ड क्रिकेटका छवटा प्रमुख संघ र खेलाडी संघबीच सम्झौता भएको हो ।

सहमतिअनुसार महिला र पुरुष दुवैको निर्धारित ओभरका अन्तर्राष्ट्रिय खेलहरुको म्याच फी एकदिवसीयका लागि न्युजिल्यान्ड डलर ४ हजार र टि-२० अन्तर्राष्ट्रियका लागि २ हजार ५०० न्युजिल्यान्ड डलर हुनेछ ।

अब उच्च वरीयताका खेलाडीले प्रतिवर्ष १ लाख ६३ हजार २४६ डलर पारिश्रमिक पाउनेछन् । नवौं वरियताकाले १ लाख ४८ हजार ९४६ डलर, १७ औं वरियतामा रहेकाले १ लाख ४२ हजार ३४६ डलर पाउनेछन् ।

घरेलु प्रतियोगिताका लागि निर्धारित ओभरको खेलका लागि खेलाडीले प्रति खेल ५७५ डलर पाउनेछन् । टेष्ट म्याचको लागि १० हजार २५० र शिल्ड गेमका लागि १ हजार ७५० न्युजिल्यान्ड डलर म्याच फी तोकिएको छ ।