NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

कांग्रेस प्रवक्ता भन्छन्–अर्थमन्त्रीको विषयले प्रधानमन्त्री गम्भीर हुनुहुन्छ

काठमाडौं । यसै वर्षको बजेटमा करको दर हेरफेरमा मनोमानी गरेको भन्दै गम्भीर आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा यतिखेर विवादको घेरामा छन् । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिइ बजेट चलाउन दिएको भन्दै समाचार आएपछि यो विवादले यतिखेर उत्कर्ष रुप लिएको छ ।

पहिले आफू मध्यरातमा मन्त्री क्वाटरमा रहेको बताएका अर्थमन्त्री शर्माले अहिले आएर १३ दिनमा सिसिटिभी फुटेज मेटिएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएपछि यो विषयले विवादको रुप लिएको छ ।

प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले संसदमा विशेष समय लिएर बोल्दै संसदीय समिति बनाएर छानविनको माग गरेका हुन् ।
साथै, सत्ताको नेतृत्वकर्ता दल कांग्रेसभित्र पनि अर्थमन्त्रीको राजीनामाको विषय उठिरहेको छ ।

अर्थमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेका बेला अब प्रधानमन्त्रीले उनलाई राजीनामा दिन बाध्य पार्छन् भन्ने प्रश्नमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सबै हिसाबबाट अर्थमन्त्रीमाथि आन्तरिक छानबिन भइरहेको जानकारी दिए ।

‘अर्थमन्त्रीका विषयमा जे बाहिर आइरहेको छ । यस्तो भएको हो भने यो राम्रो संकेत होइन । यस विषयमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भइरहेको छ । यसैले यस विषयमा के गर्नुपर्ने हो, के गर्नुपर्छ यसमा प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ’ प्रवक्ता महतले नेपालवाचसँग भने, ‘माग भए अनुसारका संसदीय समिति बनाएर छानबिन गर्ने विषय एउटा भयो । यो छानबिनसहित प्रधानमन्त्रीले आन्तरिक समिति बनाएर पनि छानविन गर्नुहुन्छ । त्यसपछि बल्ल एउटा निचोड निस्कन्छ ।’

सत्तारुढ माओवादीसँगको छलफल र आन्तरिक परामर्शपछि अर्थमन्त्रीलाई राजीनामा गराउने वा नगराउने निचोडमा प्रधानमन्त्री देउवा छन् ।

बजेटलाई प्रभावित गराउन अर्थमन्त्रीमात्रै होइन उच्च राजनीतिक नेतृत्वबीच पनि समझदारी भएको भन्दै समाचार आउन थालेपछि सत्ता गठबन्धन निक्कै दबाबमा परेको छ ।

यसैले मंगलबार अर्थमन्त्री प्रकरणको विषयमा संसदीय छानबिन समिति बनाउनेमा सहमति जुटेको छ । तर यो समिति कस्तो हुन्छ भन्ने टुंगो लागेको छैन ।

जो जिम्मेवारीमा बसेका छन् उनीहरूले कानुनी मर्यादामा रहेर जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै अर्थमन्त्रीबारे आएका विषयमाथि गम्भीर विमर्श हुने महतले प्रष्ट्याए ।

‘एउटा जिम्मेवार मन्त्रीमाथि जुन आरोप लागेको छ । यो राम्रो होइन’ महतले भने, ‘प्रधानमन्त्रीले गम्भीरताको साथ लिनुभएको छ ।’

२७ असारमा कांग्रेसको केन्द्रीय समितिको बैठक पनि बस्दैछ । यो बैठकमासमेत अर्थमन्त्रीको विषयमा गम्भीर समीक्षा हुने बुझिएको छ ।
मुख्य गरी डा. शेखर कोइराला पक्ष अर्थमन्त्री निरन्तर विवादमा आएको भन्दै राजीनामा दिनुपर्ने पक्षमा छ ।

शेखर पक्षका महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीको राजीनामा माग गरिसकेका छन् । युवा नेता प्रदीप पौडेलले पनि गम्भीर प्रश्न उठेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

अर्थमन्त्रीले झुक्याए : १३ दिन होइन तीन महिना सुरक्षित राख्नुपर्नेरहेछ सिसिटिभी फुटेज