खर्चिलो निर्वाचन व्यवस्थामाथि नै चुनौती : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पछिल्लो समय निर्वाचनमा बढ्दै गएको खर्चिलो प्रक्रियाले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ’आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तक्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारहरूले खर्च गर्ने गरेको बताउँदै यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी भएको पाइएको नेता पौडेलले बताए । त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको उनको भनाइ थियो ।
‘निर्वाचन कानुन र आचारसंहिता धेरै छन् । कतिपय रूपमा आयोग सक्रिय देखिए पनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अब संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यवस्था छ,’ उनले भने, ‘अहिले त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमाभित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् ।’
कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यास्पद भएको बताए ।
कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका विष्णु उप्रेती र मुक्ति रिजाल, गोपालकृष्ण घिमिरे लगायतले ’आर्थिक शुसासन र निर्वाचन’ विषयमा आ–आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया